एनपीएलमा सट्टेबाजी, भारतीयहरु पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सट्टेबाजी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् । भारतको उत्तरप्रदेश आग्रा सिकान्द्रा पञ्चायत घर भई हाल काठमाडौंको टोखा बस्दै आएका ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन समातिएका हुन् ।
हिजो सम्पन्न एनपीएलको फाइनलमा उनीहरुले अनलाइन बेटिङ्ग गरेको प्रहरीको आरोप छ । प्रहरीका अनुसार फाइनल खेलमा अनलाइन बेटिङ्ग भइरहेको विशेष सूचना प्राप्त भएको थियो ।
त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई टोखा नगरपालिका–३, स्थित ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको ६ बी फ्याल्टमा अनलाइन बेटिङ्ग गरिरहेको अवस्थामा फेला पारेका हो ।
उनीहरुको साथबाट प्रहरीले पाँच थान मोबाइल, एउटा ल्यापटप, एनसेलको आठ थान सिम, भारतीय राहदानी एक थान, आधार कार्ड दुई थान र भोटिङ कार्ड एक थान बरामद गरेको छ । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू