सचिवालय बैठकअघि रास्वपाका नेताहरुले भेटे सभामुख
राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक डाकेको छ । सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा तीन वटा कसूरमा मुद्दा दर्ता भएपछि रास्वपाले दिउँसो ४ बजे बैठक राखेको छ । आजको बैठकले कार्यवाहक सभापति तोक्ने आकलन गरिएको छ ।
स्रोतका अनुसार बैठकले पार्टी उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापति तोक्ने सम्भावना छ । यद्यपि, अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपा नेताहरुको पुरानै तयारी हो । सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरणलगायतका कसूुरमा पूर्पक्षमा जानसक्ने सम्भावना देखिएपछि रास्वपा नेताहरुले एक महिनाअघि नै अर्याललाई कार्यवाहक सभापति बनाएर पार्टी अघि बढाउने रणनीति बनाएका थिए ।
अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले पनि कार्यवाहक सभापतिमा दाबी गरिरहेको चर्चाबीच जनआस्थाले ‘डिपी बने घण्टीको कावा सभापति, वाग्लेसँग जुट्यो सहमति’ भन्ने समाचार यसअघि नै प्रकाशित गरेको थियो ।
त्यतिबेला रास्वपाका एक जना नेताले भनेका थिए, ‘दुई उपसभापतिज्यूको कुरा मिलिसक्यो । स्वर्णिम दाइ आफैँले डिपी दाइलाई कार्यवाहक सभापतिको लागि प्रस्ताव गर्नुभएको हो । सभापतिज्यूलाई बाहिर निकाल्न प्रदर्शन गरेर मात्रै नहोला जस्तो लाग्यो, अब उहाँ नभएको खण्डमा पार्टीलाई कसरी अघि बढाउने, त्यो दृष्टिकोणबाट छलफल थालेका छौँ ।’
सुरुमा उपसभापति वाग्लेले कार्य सभापतिमा दाबी नछाडे पनि अर्यालसँग दीर्घकालीन सम्झौता गरेर पछि हटेको कतिपयको विश्लेषण छ ।
यसैबीच सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्ने तयारी चलिरहँदा रास्वपाका नेताहरुले सभामुख देवराज घिमिरेसँग भेटेका छन् । रास्वपा संसदीय दलका सचेतक सन्तोष परियार, सांसदहरु गणेश पराजुली र सोबिता गौतमले आज मध्यान्ह सभामुख घिमिरेसँग भेटेर सभापति लामिछानेलाई निलम्बन गरिए कानुनको बर्खिलाप हुने बताएका हुन् । जवाफमा सभामुख घिमिरेले अध्ययन गरेर विधिबमोजिम नोटिस जारी हुने उल्लेख गर्नुभएको संसद सचिवालय स्रोतले बतायो ।
टिप्पणीहरू