‘ननसेन्स’हरूलाई ‘पोलिटिसियन’ मान्नुपर्ने !
राजनीतिमा दार्शनिक दृष्टिकोणसहितको प्रष्ट विचारलाई प्रमुख मान्नुपर्नेमा अनैतिक, गैरकानुनी आरोप र अराजक भीडको बलमा वाहियात–फन्टुस (ननसेन्स) हरू बढेका छन् । त्यस्तो प्रवृत्तिले सत्ता वा नेतालाई ‘आमाचकारी’ फौजदारी अपराधिक प्रकृतिका गाली गरेको भरमा आफूलाई उल्टो ‘पोलिटिसियन’ भएको ठान्दै छ । राजनीतिमा नीति, विचार, कार्यक्रम र उद्देश्य अनुकूल तथा अन्तर्गत संगठन हुनुपर्छ । त्यसविपरीत नेपालमा अराजकता बढी ‘बिक्न’ थाल्यो । राजनीतिमा ठूलो अपेक्षासहित सैद्धान्तिक र वैचारिक जगमा खुलेका पार्टीहरू चुप लागेर सहँदै बस्दा अराजक र ‘ननसेन्स’ प्रवृत्ति मौलाएको हो । सामाजिक सञ्जालको दुरुपयोग अति धेरै गरियो, भयो ।
गाली र आरोपका नाममा जस्तोसुकै फौजदारी प्रकृतिका जायज–नाजायज आरोप लगाइने गर्नाले राजनीतिक संस्कृति भताभुङ्ग बन्न पुग्छ । त्यो ‘ननपोलिटिकल’ तरिका हो । प्रतिगामी प्रवृत्ति, आपराधिक सोच र अराजक हर्कत गर्र्दै आएका केही ‘ननसेन्स’ राजावादीले सत्तामा रहेकाहरूको विरोध गर्ने नाममा गणतान्त्रिक प्रणालीविरूद्ध नै भ्रम फैलाएर आफूलाई ‘पोलिटिसियन’ लागेको भ्रम छर्न खोजेका छन् ।
लोकतन्त्रमा राजनीतिक संस्कृति र संस्कार बच्न सकेन भने व्यवस्था ‘बिहारी गणतन्त्र’ बन्छ । ‘बिहारी संस्कृति’ को तरिका झाङ्गिन पुग्यो भने लोकतन्त्र कमजोर हुन्छ । गाली, आरोप र आक्षेप मात्र लगाउने कुराले राजनीतिक संस्कृति बिग्रने सिवाय केही हुन्न । संस्कार, सभ्यता, मूल्य र राजनीतिक संस्कृति विग्रियो भने अराजक भीडको बलमा कोही पनि ‘पोलिटिसियन’ बन्न सक्दैन । बनिहाले पनि टिक्दैन । अराजकता, प्रतिगामी हर्कत र राजनीतिका नाममा उदाएका अनेकौँ ‘ननसेन्स’हरूको झुण्ड घातक र क्षणिक प्रवृत्ति मात्र हुन् । ती ‘ननसेन्स’हरू निजी स्वार्थ सिद्ध गर्न, अपराधकर्म र हर्कत लुकाउन तथा आपराधिक सञ्जाल विस्तार गर्न मात्र ‘पोलिटिकल लिडर’ बन्न अनेक ‘पत्रु फण्डा’ गर्दैछन् ।
अनेकौँ अपराधकर्म गरेका र आपराधिक सोच भएका अराजकहरूलाई ‘पोलिटिसियन’ मान्नुपर्ने कस्तो विडम्बना हो ? यसमा आफूलाई ठूला र जनताको शक्ति भन्नेहरूको पनि दोष र कमजोरीचाहिँ छ । राजनीतिक दर्शन, सिद्धान्त र मूल्य तथा समाज विज्ञानको कुनै ज्ञान नभएका ‘पोलिटिकल्ली सेन्सलेस’ तथा ‘ननसेन्स’हरू ‘पोलिटिसियन’ हुन सक्दैनन् । नेपाली जनतामा राजनीतिक चेत मरेको छैन । तिनलाई जनताले किन र कुन आधारमा ‘पोलिटिसियन’ मान्नुपर्ने हो ? सहकारीमारा, ठग, अपराधी तथा अपराधमा प्रहरीले छानबिनको लागि पक्राउ गरी थुनिएका आरोपितले उल्टै सडकमा ‘प्रतिरोध’को नाममा गतिविधि गर्नु लोकतन्त्रका लागि ‘ननसेन्स’ जोक मात्र हो ।
आफूलाई राजनीतिक नेतृत्वमा रहेको दाबी गर्ने व्यक्तिको समाजप्रतिको दृष्टिकोण, विचार, मूल्य र मान्यतालाई मानिसले हेरिरहेका हुन्छन् । मजदुर, किसान, गरीब, आम नागरिक तथा सर्वसाधारणप्रतिको नेता र विचारकको दृष्टिकोणको प्रभाव संगठनमा पर्छ । अराजक गालीको सहाराबाट मात्र अघि बढ्न खोज्नु असल संस्कृतिको बाधक कुरा हो । लामो समयदेखि मुलुकमा सहकारीका नाममा भयानक ठूला ठगी र अपराध भए, गरिए । गरीबको बचतमाथि लुट भयो । ‘ननसेन्स’ प्रवृत्तिका ठग र अपराधीहरू उल्टो राजनीतिमा आउने र चर्का कुरा गर्ने प्रवृत्तिले लोकतन्त्रलाई धमिलो बनाउँदै लगेको छ । अपराध गर्दैजाने र राजनीतिका नाममा छुट दिने हो भने प्रणाली पूरै अराजक बन्न पुग्दछ । फौजदारी गल्ती गर्ने जो कोहीलाई कानुनी कारबाही हुनुपर्छ । त्यो नै विधिको शासनको मर्म पनि हो । सिद्धान्तहिन, विचारविहीन, मूल्यहिन र अनैतिक तथा अराजक ‘ननसेन्स’हरू जनताको राजनीतिक तथा सामाजिक साथी र सहयोगी बन्नै सक्दैनन् । तिनीहरू अपराधी नै हुन् । आफ्नो अपराध लुकाउन ‘ठूला कुरा’ गरेर राजनीतिमा आउन खोजेका ‘ननसेन्स’हरूलाई ‘पोलिटिसियन’ मान्नु आवश्यक छैन ।
त्यस्ता ‘ननसेन्स’हरूको भ्रम झुट्टा र क्षणिक हो । नेपालको इतिहासमा धेरै नेता र समूह विभिन्न विचार, सिद्धान्त, दर्शन र मूल्यबाट अघि आए, ‘झुण्ड’ बनाए र फेरि विस्तारै समाजबाटै अस्ताए । त्यस्ताको कुनै भर हुँदैन । इतिहासमा प्रजा परिषद थियो । गयो । हरियाली पार्टी आयो । गयो । विवेकशील साझा आयो । गयो । कमल थापा प्रवृत्ति आयो । गयो । यसबीचमा रास्वपा आएको थियो । त्यो पनि छिट्टै जाँदैछ । एक पटक गएपछि कहिल्यै आउने छैन । यस्तो किन र कसरी हुन्छ ? कुनै दर्शन, विचार र मूल्यबाट प्रभावित नभई अर्काे समूह वा दललाई गाली गरेको मात्र आधारमा आएका ‘ननसेन्स’हरूको शक्ति क्षणिक र घातक हुन्छ । दर्शन, विचार, सिद्धान्त, कार्यक्रम र उद्देश्यसहित खुलेका ठूला पार्टी आन्तरिक रूपमै शुद्ध र प्रष्ट हुनुपर्छ ।
टिप्पणीहरू