अमेरिका घुमघाममा दङ्ग दर्जनौं कलाकारको खर्चबारे अनेक आशंका
नेपाली कलाकारहरु विदेशको कार्यक्रममा जाने भनेपछि हुरुक्कै हुने गरेका छन् । सांस्कृतिक कार्यक्रम होओस् वा अवार्ड समारोह, उनीहरुलाई जातेआते हवाई टिकट पाए पुग्यो ।
पछिल्लो समय नेपाली चलचित्र र संगीतसम्बन्धी अवार्ड कार्यक्रम विदेशमा बढी आयोजना हुन थालेको छ । विदेशमा त्यस्ता कार्यक्रम आयोजना गर्दा नेपाली चलचित्रलाई फाइदा के हुन्छ ? यसको छुट्टै चर्चा गर्न सकिएला । तर विदेशमा कार्यक्रम आयोजना गर्दा प्राविधिक रुपमा धेरै घाटा हुने चलचित्रकर्मीहरुको विश्लेषण छ । त्यो आर्थिक र चलचित्रको गुणस्तरको दृष्टिकोणले पनि उपयुक्त नहुने ठहर छ । त्यसबाहेक, पैसा तिरेर अवार्ड खरिद गर्ने गरेको आरोप पनि छँदैछ ।
यतिखेर नेपाली कलाकारहरुको एउटा जम्बोटोली अमेरिका पुगेको छ । क्यालिफोर्नियामा आयोजना गरिएको गोल्डेन नेपाली फिल्म अवार्ड समारोहका लागि चार दर्जनभन्दा बढी कलाकार सहभागी भएका हुन् । अभिनेता भुवन केसी, उनकी प्रेमिका जिया केसी, छोरा अनमोल केसी, शिव श्रेष्ठ, नीर शाह, सुनिल थापा, दिपाश्री निरौला, केकी अधिकारी, आँचल शर्मा, केदार घिमिरे, जितु नेपाल, नीति शाह, रिमा विश्वकर्मालगायत चर्चित कलाकारहरु साताअघि नेपालबाट उडेका थिए । तीमध्ये कोही नेपाल फर्किसकेका छन् भने कोही उतै देखिन्छन् ।
कार्यक्रममा अभिनेता शिव श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो भने अन्य कलाकारहरुलाई विभिन्न उपाधीसहितको पुरस्कार प्रदान गरिएको छ । अवार्ड कार्यक्रमको प्रचार–प्रसार सामाग्रीमा हिमालय फाउन्डेसन कर्पलाई मुख्य आयोजक भनिएको छ ।
त्यस्तै, सहआयोजकको रुपमा अन्य संस्थाहरु पनि छन् । विदेशमा हुने कार्यक्रमको बाहनामा मानव बेचबिखन तथा ओसारपोसारको घटना बढिहेको बेला गोल्डेन फिल्म अवार्डको तामझामलाई पनि शंकास्पद रुपमा हेरिएको छ । एक पूराना चलचित्रकर्मी भन्छन्, ‘सकेसम्म विदेशमा भएका कलाकारलाई पनि स्वदेश फर्काउने काम गर्नुपर्ने हो, तर अहिले विदेशमा कार्यक्रम गर्ने, भएभरका कलाकार पनि त्यतै गएर खर्च गर्ने प्रवृत्ति बढ्यो । यो राम्रो संकेत होइन ।’
बलिउडका अवार्ड कार्यक्रमहरु विदेशमा आयोजना गरे पनि त्यहाँ पारदर्शी हुने उनै चलचित्रकर्मीको अनुभव छ । ‘हाम्रा कलाकार विदेश भन्नबित्तिकै मरिहत्ते गर्छन्, झन् अमेरिका भनेपछि त के कुरा गर्नु !’, उनले भने, ‘त्यसमाथि कलाकारको टिकट खर्च, होटल खर्च, कार्यक्रम खर्च कसरी जुटाइन्छ, त्यो सबै रहस्यमय छ हाम्रोमा । तर उता (बलिउडमा) त्यस्तो हुँदैन ।’
अर्को रोचक पक्ष, केही वर्षदेखि लगातार आयोजना हुँदै आएको ग्लोबल फिल्म अवार्डको आयोजकबीच आन्तरिक कलह सिर्जना भएपछि केही व्यक्तिहरु छुट्टिएर एउटा समूह बनाए । सोही समूहले गोल्डेन फिल्म अवार्ड आयोजना गरेको बताइन्छ । आयोजकमध्येका एक व्यक्तिले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई पनि निमन्त्रणा पठाएका थिए । तर उनी नगएको बताउँदै बोर्डका एक कर्मचारीले भने, ‘त्यो कार्यक्रमबाट अध्यक्षज्यूलाई पनि निमन्त्रणा आएको थियो, तर उहाँ जानुभएन ।’
यसअघिका बोर्ड अध्यक्ष भुवन केसी दुई वर्षे कार्यकालमा प्रेमिका जिया केसीसहित दर्जनभन्दा बढी देशको भ्रमणमा गएका थिए । उनको चर्को आलोचना भएकाले हालका अध्यक्ष डिसी त्यस्तै आलोचनालाई छल्न यतिखेर अमेरिका नगएको चलचित्रकर्मीहरुको अनुमान छ ।
टिप्पणीहरू