म्यानमार पुर्याइएका पाँच नेपाली फिर्ता

म्यानमार पुर्याइएका पाँच नेपाली फिर्ता

रोजगारीको प्रलोभन देखाएर गैरकानुनी तवरले म्यानमार पुर्याइएका पाँच नेपालीलाई स्वदेश फर्काइएको छ । 

म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्याण्ड हुँदै उनीहरुलाई नेपाल फिर्ता ल्याएको बैंककस्थित नेपाली दूतावासले जानकारी दिएको हो । चार पुरुष र एक महिलालाई थाई सरकारी निकाय, आईओएम थाइल्याण्ड र अन्य गैरसरकारी संस्थाको सहयोगमा नेपाल ल्याइएको दूतावासले जनाएको छ । 

‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाई सरकारी निकाय, आईओएम थाइल्याण्ड र अन्य गैरसरकारी संस्थाको सहयोगमा यही १७ डिसेम्बर २०२४ मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर २०२४ मा एक जना महिलालाई नेपाल फर्काइएको छ,’ दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

दूतावासले सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएरमात्रै वैदेशिक रोजगारीमा जान आग्रह गर्दै कसैको प्रलोभनमा परी छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत देश नआउन पनि सचेत गराएको छ ।

टिप्पणीहरू