रविको बयान आज पनि निरन्तर
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोस्रो दिनको बयान शुरु भएको छ ।
कास्की जिल्ला कास्कीका न्यायाधीश नितेज राईको इजलासमा हिजोदेखि शुरु भएको बयान आज निरन्तर अघि बढाइएको हो । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलनमा मुद्दा चलाइएका लामिछानेले हिजो झन्डै ३ घण्टा बयान दिएका थिए ।
गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई, तत्कालीन उपाध्यक्ष छविलाल बन्जाडे जोशी, प्रबन्ध निर्देशक लामिछाने, जिबीकी प्रेमिका लीला पछाईसहित ४४ जनाविरुद्ध गत आइतबार मुद्धा दर्ता भएको थियो । छविलाल र लीलाको बयान सकिएपछि हिजो अबेरबाट लामिछानेको बयान लिन शुरु गरिएको हो ।
हिजो न्यायाधीश राईले ११ वटा लामा प्रश्न सोधेकोमा उनले आरोप इन्कार गरेका थिए । इजलासले ‘तपाईविरुद्ध प्रहरीले खातका खात प्रमाण टेबलमा राखिदिएको छ, यी सबै नक्कली हुन् त ?’ भन्ने प्रश्न राख्दा लामिछानेले ‘पोखरामा सूर्यदर्शन नाम गरेको सहकारी पनि रहेछ भन्ने कुरा हालै मात्र थाहा पाएको’ भनी जवाफ फर्काएको बताइएको छ ।
सहकारी ठगी प्रकरणमा शुरुदेखि नै आफ्नो संलग्नता अस्वीकार गर्दै आएका लामिछानेले यसअघि संसदीय विशेष समिति र सरकारी वकिलसँगको बयानमा पनि आरोप अस्वीकार गरेका थिए । तर, जिल्ला सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता ठहर हुने प्रमाणसहित २८ करोड बिगो मागदावीसहित मुद्दा दर्ता गरेको हो । यस प्रकरणमा प्रतिवादी कायम गरिएका सबैविरुद्ध कुल डेढ अर्ब बिगो मागिएको छ ।
अदालतले सुनुवाइ सकिएपछि लामिछानेलगायतका प्रतिवादीलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्ने आदेश दिनेछ ।
टिप्पणीहरू