ट्रम्पको शपथ नजिकिँदा अमेरिका बस्ने विदेशी समुदाय तरंगित
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २० तारिखका दिन शपथ ग्रहणलगत्तै हुनसक्ने सम्भावित घोषणालाई मध्यनजर गर्दै विभिन्न अड्कलबाजी हुन थालेको छ । अमेरिकामा बसिरहेका आप्रवासीहरूको सामूहिक निर्वासनका लागि राष्ट्रिय आपत्काल घोषणा गर्ने सम्भावना बढेपछि विशेषगरी त्यहाँ रहेका तर कानुनी प्रक्रिया पूरा नभएका विदेशी र अमेरिका जान लागेका विद्यार्थीहरुलाई ठण्डा दिमागले सोच्न आग्रह गरिएको छ ।
कलेज र विश्वविद्यालयहरूले शपथग्रहणलगत्तै अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई दिएको सल्लाहमा नयाँ सरकारबाट हुनसक्ने घोषणालाई ध्यानमा राख्दै सावधानीपूर्वक आफ्नो यात्राको योजना बनाउन भनिएको छ ।
सिएनएनका अनुसार ट्रम्पको शपथग्रहणअघि कोर्नेल विश्वविद्यालयको ग्लोबल लर्निङ कार्यालयले आफ्नो वेबसाइटमा नयाँ राष्ट्रपति प्रशासनबाट जारी हुनसक्ने सम्भावित घोषणाबारे उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई आगामी वर्ष जनवरी २१ बाट शुरु हुने नयाँ सेमेस्टर अगावै फर्कन वा भावी यात्रा योजनाबारे कानुनी सल्लाहको निम्ति सुझाव दिइएको छ ।
अमेरिकाले जनवरी २० देखि नै किर्गिस्तान,नाइजेरिया,म्यानमार, सुडान, तान्जानिया,इरान,लिबिया,उत्तर कोरिया, सिरिया, भेनेजुएला,यमन र सोमालियाका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने सम्भावना प्रवल छ । उक्त सूचीमा कतिपयले चीन र भारतलाई पनि समावेश गर्नसक्ने आकलन गरेपछि त्यहाँहस्थित आप्रवासी समुदायमा ठूलो खैलाबैला मच्चिएको छ ।
टिप्पणीहरू