बाटो ढलानको भ्रष्टाचारमा पूर्वअध्यक्षसहित एक दर्जन तानिए
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्याल भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित एक दर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
हालका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमसहित पूर्वप्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, इन्जिनियर नवीन थापा र सुदिप आचार्य, सबइन्जिनियर सूर्यप्रसाद पौडेल, सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले र कोषाध्यक्ष हिमकुमारी केसीविरुद्ध मुद्दा दायर गरिएको हो ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मङ्गदेवी थापामगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटालाई पनि प्रतिवादी बनाइएको छ । आर्थिक वर्ष २०७५–०७६ र ०७६–०७७ मा पालिकाको वडा नम्बर १ मा स्थानीय बजार क्षेत्रको सडक निर्माण तथा ढलान कार्यमा उनीहरुको मिलेमतोमा ३५ लाख ३९ हजार ३३१ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम उक्त रकम असुलउपर गरी कैद र जरिवाना हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
टिप्पणीहरू