एमालेबाट भीम रावल निकालिएकोमा कांग्रेस नेता असन्तुष्ट

एमालेबाट भीम रावल निकालिएकोमा कांग्रेस नेता असन्तुष्ट
सुन्नुहोस्

डाक्टर भीमबहादुर रावललाई पार्टीबाट निकाल्ने नेकपा एमालेको निर्णयप्रति नेपाली काँग्रेसका नेताहरुले असन्तुष्टि जनाएका छन् । 

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विगतमा प्रश्न उठाएका तर सत्ता साझेदार भएपछि चुपचाप रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा रावल प्रकरणमा आज बोलेका हुन् । 

दिउँसो पूर्वकर्मचारी समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले एउटा दलको निर्णयले मुलुकलाई प्रभाव पार्ने भन्दै रावललाई निकाल्ने निर्णयको विपक्षमा धारणा राख्ने बताए । महाधिवेशनमा ओलीसँग प्रतिष्पर्धा गरेकै कारण एमालेले रावलमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको आफ्नो पुरानो अभिव्यक्ति स्मरण गर्दै उनले काँग्रेसमा यस्तो नहुने दावी गरे । 

फरक विचार राख्दैमा कारवाही गर्ने प्रवृति कम्युनिष्ट पार्टीमा मात्रै भएको तर्क गर्दै उनले भने, ‘मैले प्रधानमन्त्रीलाई संसदमा पनि भनेको थिएँ,कांग्रेसमा सभापतिमा प्रतिस्पर्धा गरेका सबै यहीँ हुनुहुन्छ । सबै प्रतिस्पर्धीलाई एकताबद्ध गर्ने तागत कांग्रेसले राख्छ । तपाईंको पार्टीमा तपाईंसँग प्रतिस्पर्धा गर्ने अछाम जिल्लाको कहाँ हुनुहुन्छ ? म सोध्न चाहन्छु ।’

"कांग्रेसमा सभापतिमा प्रतिस्पर्धा गरेका सबै यहीँ हुनुहुन्छ । सबै प्रतिस्पर्धीलाई एकताबद्ध गर्ने तागत कांग्रेसले राख्छ । तपाईंको पार्टीमा तपाईंसँग प्रतिस्पर्धा गर्ने अछाम जिल्लाको कहाँ हुनुहुन्छ ? म सोध्न चाहन्छु"

महामन्त्री शर्माले कुनै बहादुरले चाहँदैमा अब संसद भंग गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीमाथि कटाक्ष पनि गरेका छन् । उनले थपे, ‘राजनीतिक पद्धति स्थिर भइसक्यो । संसद पाँच वर्षभित्रमा कुनै बहादुरले भंग गर्न चाहेर अब त्यति सजिलै भंग हुँदैन ।’

अर्का महामन्त्री थापाले पनि कांग्रेसभित्र बहसको परम्परा जीवित रहेको भन्दै प्रधानमन्त्री ओलीलाई व्यंग कसे । विपी कोइरालाको मेलमिलाप नीतिबारे छलफल गर्न आयोजित कार्यक्रममा उनले कांग्रेसभित्र बहस गर्दैमा पार्टी छाड्नु नपर्ने बताएका हुन् । 

एमाले नेतृत्वमा किन यतिविघ्न भय छ ? कारण थाहा नपाएको बताउँदै भने, ‘पार्टीभित्र छलफल र बहस हुन्छ । गर्नुपर्छ । हाम्रोमा अरुमा जस्तो बहस गर्दैमा पार्टी छोड्नुपर्दैन । बहस हुन्छ । चल्छ । हामी कहाँ त्यो परम्परा छ ।’

त्यसो त,सरकार सन्चालनका विषयमा पनि सत्ता साझेदार कांग्रेसका नेताहरुले प्रधानमन्त्रीमाथि प्रश्न उठाइरहेका छन् । आलोपालो सहमति कार्यान्वयन हुनेमा आशावादी रहेका सभापति शेरबहादुर देउवाले सरकार र प्रधानमन्त्रीको बचाउ गरेपनि शेखर कोइरालासहित इतर खेमाका नेताहरु सन्तुष्ट नरहेको उनीहरुका सार्वजनिक टिप्पणीबाट प्रष्ट हुन्छ ।

टिप्पणीहरू