ओलीसँग जोगिन कांग्रेसलाई भीम रावलको आग्रह
पूर्वएमाले नेता डाक्टर भीमबहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सतर्क रहन अन्य दलका नेताहरुलाई सल्लाह दिएका छन् ।
ओलीको भनाई र गराईमा आकाश-पातालको फरक रहेको भन्दै उनले नेपाली कांग्रेस,माओवादी केन्द्रसहित साना दलका नेताहरुलाई होशियार रहन सुझाएका हुन् । बालकोटमा एउटा कुरा गर्ने ओलीले बालुवाटारमा अर्को र च्यासलमा फरक कुरा गर्ने गरेको रावलको भनाई छ ।
'आजै राति फरक मोडको कुनै निर्णय गरे तपाईंहरु आश्चर्यमा नपर्नुहोला !'
पार्टीबाट निकालिएपछि आज पहिलोपटक पत्रकार सम्मेलन गर्दै उनले भने, ‘०७७ सालको एउटा स्थायी कमिटी बैठकमा मैले गल्ती गरेँ, त्यसलाई अब बिर्सिएर पार्टी अघि बढाऔँ, तपाईंहरुलाई धन्यवाद भन्ने तपाईं नै होइन र ? अनि फेरि भोलिपल्ट बिहान सबै गल्ती भीम रावलको हो, मैले सम्झाएँ भनेर कार्यकर्तामा भाषण दिने पनि तपाई नै होइन ? यो केपी ओलीको प्रवृति हो ।’
ओलीसँग लामो संगत गरेको कारण आन्द्राभुँडी थाहा भएको बताउँदै उनले काँग्रेस नेताहरुलाई भने, 'आजै राति फरक मोडको कुनै निर्णय गरे तपाईंहरु आश्चर्यमा नपर्नुहोला !' यो ओलीको पुरानै आनीबानी भएको उनले बताए ।
बेइमानी गर्नुको पनि हद हुने भन्दै रावलले थपे, ‘आफैँ बेइमानीको पराकाष्ठा नाघेर अरुतिर औँला ठडाउनुको कुनै अर्थ छ र ?’
टिप्पणीहरू