प्रधानमन्त्री अकस्मात भङ्गाल पुगेपछि
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा दिउँसो बसेको सचिवालय बैठक सकाएर सोझै काठमाडौंको उत्तरीभेगतिर हान्निनुभयो । सुरक्षादस्तासहित उहाँ झण्डै बूढानीलकण्ठ नजिकै भङ्गालस्थित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको निवास जानुलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् ।
सुरक्षाकर्मीको झण्डै आधा दर्जन गाडी अघिपछि लगाउँदै भण्डारी निवास पुग्नुभएका उहाँ बेलुकी साढे ६ बजेतिर निस्कनुभएको बुझिएको छ । स्रोत भन्छ, ‘झण्डै दुई घण्टा बसेर बालुवाटार फर्कनुभयो ।’
यतिबेला ओली चौतर्फी घेराबन्दीमा रहेकोले थर्काउन हैन फकाउनै गएको हुनुपर्ने केही बुध्दिजीवीको आकलन छ ।
आज दिउँसो अपर्झट सचिवालय बैठक डाक्नु र त्यहाँबाट सोझै एमाले पूर्व उपाध्यक्ष तथा भूतपूर्व राष्ट्रपति भण्डारीलाई भेट्न जानुलाई पछिल्ला आन्तरिक, वाह्य तथा पार्टीभित्र उत्पन्न घटनाक्रमसँग जोेडेर हेर्नुपर्ने एमालेजनको बुझाई छ । स्रोत भन्छ, ‘चीन भ्रमणबाट फर्केको एक महिना हुँदा पनि भारतले भ्रमणको लागि वास्ता नगर्नु,पार्टीबाट निष्कासित नेता भीम रावलले सार्वजनिक रुपमा ७४ बुँदे गम्भीर आरोप लगाउनु,संविधान संशोधनको विषय अघि बढ्न नसक्नु र स्वयम् विद्यालाई पार्टीभित्रै एउटा तप्काले भावी अध्यक्षको रुपमा हेर्नुले पनि उहाँ नाडी छाम्न त्यहाँ पुगेको हुनसक्छ ।’
संविधान संशोधनको विषयलाई आधार बनाउँदै गठित ओली सरकारले त्यो काम गर्न नसके नेपाली काँग्रेस चुप लागेर नबस्ने निश्चित रहेको एमालेको आन्तरिक विश्लेषण छ । काँग्रेस सत्ताबाट बाहिरिन खोजे परिस्थिति थप जटिल हुने आभाष प्रधानमन्त्री स्वयमलाई पनि भएको हुनुपर्छ ।
नेपाललले बिआरआईमा बाध्यताको कारण दस्तखत गर्न परेको कुरा परराष्ट्रमन्त्रीले नयाँ दिल्ली भ्रमणका क्रममा बोलेको विषय पनि छिमेकी भारत र सात समुन्द्रपारिसमेत चर्चामा छ । अर्कोतर्फ स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई गरिएको छ महिना निलम्बनको निर्णय पनि पार्टीभित्र थप आलोच्य बनेको अवस्था छ ।
टिप्पणीहरू