अर्जुन र महेशलाई प्रचण्डको जवाफ- नियत र निष्ठा राम्रो हुनुपर्छ !

अर्जुन र महेशलाई प्रचण्डको जवाफ- नियत र निष्ठा राम्रो हुनुपर्छ !
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानमा आफ्नो प्रतिवद्धता तल-माथि नहुने स्पष्ट पार्नुभएको छ । 

माओवादी सरकार र प्रतिपक्ष जुनसुकै भूमिकामा रहे पनि सुशासनको मामिलामा इमान्दार रहने उहाँले बताउनुभएको हो । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेकोमा समेत जोड दिनुभएको छ । 

कार्यक्रममा त्यसअघि बोलेका सत्तापक्षीय नेता अर्जुन नरसिंह केसी र महेशकुमार बर्तौलाले सरकारमा रहँदा र बाहिर हुँदा फरक-फरक कुरा गरेको भन्दै प्रचण्डको घुमाउरो आलोचना गरेका थिए । समाजलाई विभाजित गर्ने खालका अभिव्यक्ति दिएको भन्दै बर्तौलाले असन्तुष्टिसमेत जनाएका थिए । 

‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौँ । यसो अहिले हेर्दा कहिले लाग्छ, सम्माननीय पूर्वप्रधानमन्त्रीज्यु यहीँ हुनुहुन्छ । हामीलाई यसो लाग्छ, कहिले कहीँ नेताहरुको अभिव्यक्ति, नेताहरुले गरेका व्यवहार, कार्यशैलीहरुले समाजलाई कताकता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो की भन्ने पनि लाग्छ', उनको भनाई थियो ।

तर, प्रचण्डले भने त्यसको खण्डन गर्दै सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनुभएको हो । सुशासन स्थापित गर्न सरकारमा रहँदा इमान्दारीपूर्वक काम गरेको र अहिले त्यहि कुरा उठाइरहेको उहाँको भनाई थियो । 

'म के भन्न चाहन्छु भने मैले कम्तिमा पनि पछिल्लो कार्यकाल मैले भ्रष्टाचारका बिरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका बिरुद्ध, सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक गरेँ । मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले बाहिर आउँदा पनि मैले त्यही बोलेको छु भन्ने मेरो विश्वास छ', उहाँले भन्नुभयो । 

अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरुद्ध व्यवहारिक ढंगले अघि बढ्नुपर्नेमा पनि जोड दिनुभएको छ । ‘आदर्शका कुरा त धेरैले गर्छौं तर व्यवहारमा कसले के गर्छ भन्ने महत्वपूर्ण हुन्छ’, उहाँले भन्नुभयो, ‘यसमा नियत र निष्ठा बढी महत्वपूर्ण हुने रहेछ।’

उहाँले सुशासनको पक्षमा गम्भीर भएर समीक्षा गर्नेबेला आएको पनि बताउनुभयो । नेपाली समाजलाई निष्ठापूर्वक अघि लैजानुपर्नेमा त्यसो हुन नसकेको जनाउँदै प्रश्न गर्नुभयो, ‘नेपाली समाजले राजनीतिक दल र सरकारबाट त्यो महसुस गरेको छ त ?’
 

टिप्पणीहरू