अष्ट्रेलिया यात्रा : भारतबाट गमन, चीनबाट आगमन

अष्ट्रेलिया यात्रा : भारतबाट गमन, चीनबाट आगमन
सुन्नुहोस्

सन् २०२४ अक्टोबर ३ को दिन हाम्रो जोडी (शारदा र म) अष्ट्रेलिया भ्रमणका लागि घरबाट बिदा भयौं । असोज १२ गतेको बाढीले ध्वस्त बनाएको काठमाडौंका सडकलाई छिचोल्दै एयरपोर्टतिर जाँदा पनि मुसलधारे पानी परिरहेको थियो । अवस्था यतिसम्म खराब थियो कि उडान हुन्छ कि हुँदैन भनेर मनमनै डराएको थिएँ ।

एयरपोर्ट पुग्दासम्म वर्षा केही थामिएकाले मन शान्त भयो । पानी जति कम हुन्थ्यो, हामी त्यति खुशी हुन्थ्यौं । एअर इण्डियाको बिहान सवा १० बजेको हाम्रो फ्लाइट थियो । असनका एक व्यापारीले उक्त एअरलाइन्सको विषयमा केही नकारात्मक कुरा बताउँदै सबैलाई सचेत गराइरहेका थिए । काठमाडौंबाट निर्धारित समयमा उडेपनि नयाँ दिल्लीमा पुगेपछि सबै यात्रु अलपत्र परे । 

अष्ट्रेलिया उड्ने विमानको समय र गेट तोकिएको थिएन । त्यसकारण एअरपोर्टमा यता र उता भौतारिनुपर्ने भयो । भारतीय समय दिउँसो ३ बजेर ४० मीनेटमा हामी अष्ट्रेलिया प्रस्थान गर्यौं । ३२० जना यात्रु बोकेर विमान १२ घण्टे लामो यात्राका लागि उड्यो । हाम्रो सुविधाका लागि छोरीले २८ डलर थप तिरेको सिटमा कम्प्युटरले काम गरिरहेको थिएन । 

अन्य सेवासुविधा राम्रै लाग्यो । अक्टोबर ४ को बिहान ७ बजे विमान सिड्नी एअरपोर्टमा अवतरण भयो । हाम्रो स्वागतका लागि छोरी फूलमाला बोकेर बसेकी थिइन् । अष्ट्रेलियाको बारेमा धेरै कुरा सुनेका थियौं तर मलाई बिल्कुलै फरक लाग्यो । प्रजातन्त्रको परिभाषा डर र त्रासमा रुपान्तरण गरिएको पाइयो । कदमैपिच्छे क्षमा चाहन्छु भन्दै हिँड्नुपर्ने अवस्था देखियो ।

धेरैअगाडि विकास भएको सडकका कारण अहिलेको जनसंख्याले दुःख पाइरहेका छन् । ठाउँठाउँमा सिग्नल हुँदा समयमै गन्तव्यमा पुग्न निकै गाह्रो भयो । भौगोलिक बनोटको कुरा गर्दा न सम्म थियो न भिरालो । जता हेरे पनि उबडखाबड जमिन । त्यसका बाबजुद त्यहाँको यातायातको विकास वास्तवमै तारिफयोग्य र सिक्नलायक देखियो । सरकारी रेल सेवा र बस सेवा त्यहाँको भरपर्दो यातायात प्रणाली हो । तोकिएको समयभन्दा यताउता नहुने सेवाले सबै प्रभावित थिए ।

जमिनको सतह समुद्रदेखि एक हजार १०० मिटरसम्म अग्लो होचो पाइयो । त्यस्तो जमिनमा पनि रेल सेवा भने सम्म मैदानमा दौडिएकोजस्तो थियो । चट्टानहरु प्वाल पारेर एउटै सतहमा रेलको लिग बिछ्याइएको । माटो नेपालको जस्तो उर्वर लागेन । विरुवाहरु पनि जताततै मध्यम खालका मात्र देखिन्थे । अनुत्पादक बाँझो जमिन देख्ने अवसर मिलेन । सबैतिर बोटबिरुवाको अवस्था हेर्दा माटो राम्रो थिएन ।

अष्ट्रेलिया सरकारले सन् १९१४ देखि १८ सम्मको विश्वयुद्धबाट पाठ सिकेर काम गरेको सजिलै अनुमान गर्न सकिन्छ । सरकारको स्पष्ट योजना छ । जुन योजना लागू गर्न जनताले पनि सहयोग गरेको देखिन्छ । योजनाप्रति सरकारी कर्मचारी प्रतिबद्ध छन् । आफ्नो सरकारको योजना कार्यान्वयन गर्न सकेकाले कर्मचारी गौरवान्वित देखिन्छन् । कानुनी नियमितता त्यतिकै छ । विकास र निर्माण गौरवको विषय बनेको छ । 

देश सकेसम्म स्वतन्त्र रुपमा उभिने र नयाँ कार्यको लागि योजना बनाउने विषयमा बढी केन्द्रित रहेको पाइयो । कमिसनको गन्ध आएको जानकारी भएन । सरकारी योजनालाई प्राथमिकतामा राखेर जनता अगाडि बढ्दाको परिणाम घरमा देखिन्छ । बाटोले कसैको घर काटेको छैन । त्यस्तै उब्जाउ भूमिमा कसैको घर बनेको छैन । बाटोमा एउटा सानो खाल्डो पनि भेटिँदैन । धुँवाधुलो के हो ? त्यहाँको जनतालाई जानकारी छैन । 

गाडी पार्किङसहितको बगैंचामा एकतले घर शानको विषय बनेको छ । थोरै जग्गामा धेरै तले घर बनाएर बस्नेलाई गरिबको संज्ञा दिँइदो रहेछ । सडकहरु अपाङ्गमैत्री छन् । जसले गर्दा ८० वर्षदेखि माथिका बूढाबूढी पनि कसैको सहारा बिना आफ्नो गाडी वा मोटरसहितको चक्के कुर्सी लिएर निर्धक्क सडकमा एक्लै हिँड्न सक्ने ।

कसैले सहारा दिने प्रयास गरेपनि स्वीकार गर्दैनन् उनीहरु । बाटोको अवस्थाअनुसार उकालो, ओरालो, घुम्ती, क्रसबारे ठाउँठाउँमा सूचना बोर्ड छन् । भूगोलअनुसार बाटोमा गतिको सूचना, क्यामेरा र घुम्ती प्रहरी निरन्तर सक्रिय छन् । नेपालजस्तै बायाँ साइडबाट गाडी चलाउने चलन त्यहाँ छ । 

बाटो वा राजमार्गमा २० देखि ११० को गतिमा लेखेको सूचना बोर्डहरु यत्रतत्र देखिन्छ । गाडी ११० को गतिमा हुँदा त्यहाँको राष्ट्रिय जनावर कंगारु मर्दा पनि कानुन नलाग्ने रहेछ । तर, कंगारु घाइते भएमा प्रहरीलाई सूचना दिनुपर्छ । यसै अवसरमा अष्ट्रेलियन संसदको भ्रमण गरियो । त्यहाँको इतिहास अध्ययन गर्ने मौका पनि मिल्यो ।

व्यापार जहिले र जहाँपनि एउटा मलभित्र हुने गर्दछ । कहीँकतै फोहोर देखिँदैन । सबै खालका आवश्यक सामानहरु मलभित्र नै पाइन्छ । जसको बाटोसँग सम्बन्ध हुँदैन । यसले सामान धुँवाधुलो र घामपानीबाट जोगिन्छ । मिति सकिएका सामान प्रयोग हुने डर रहँदैन । बजारबाट किनेर ल्याएको तरकारी नपखाली पकाउन सकिन्छ । तरकारी पखाल्ने कामले धेरैलाई रोजगारी दिएको छ । 

भाउमा कुनै किसिमको उतारचढाव छैन । बिल भुक्तानीको लागि काउण्टरमा मान्छे बसेका हुँदैनन् । नगदमा कारोबार लगभग हराइसकेको छ । सबै भुक्तानी डिजिटल रुपमा हुने । नेपालको जस्तो चिया होइन्, कफी–बियरलाई प्राथमिकतामा राखेको देखियो । कृषि फार्ममा कुनै पनि जनावर बाँधिएका पाइएनन् । घोडाफार्म, भेडाफार्म र गाईंफार्म देख्यौं । तारबारभित्र खुल्ला रुपमा जनावर छोडिएको हुन्थ्यो । 

रातका लागि व्यवस्थित गोठ बनाइएको थियो । त्यहाँ मानिसभन्दा मेसिनले बढी काम गर्छ । धेरै उत्पादन हुँदा उपभोक्ताले सस्तोमा सामान प्रयोग गर्न पाएका छन् । सबैतिर सरसफाइ थियो । ‘एउटा गाउँ एउटा स्थानीय सरकार’ जस्तैगरी समाज चलेको देखियो । एउटा गाउँमा हुनुपर्ने व्यवस्थित बस्ती, अपाङ्गमैत्री सडक, बालमैत्री विद्यालय, अपाङ्गमैत्री पार्क, अस्पताल, नर्ससहितको वृद्धाश्रम, पौडी खेल्न तातोपानीसहितको पोखरी, नियमित सरसफाइ र मानिसको मृत्युपश्चात् अन्तिम संस्कारको लागि छुट्टै जमिन सबै उपलब्ध थिए । त्यहाँ चराचुरुङ्गी मार्नु वा छोप्नु दण्डनीय कार्य मानिन्छ । बजारमा पनि चराहरु मान्छेसँगै खेलिरहेका देखिँदा को नरमाउला ?

आफनो देशमा काम नलाग्ने व्यक्तिलाई बेलायतबाट निकाला गरी सजाय दिन मरुभूमि वा जंगल पठाइएका व्यक्तिले अष्ट्रेलिया बनाएका रहेछन् । आज अष्ट्रेलिया कानुनी रुपमा अनुशासित समाजवादी अवधारणाको पूँजीवादी देश बनेको छ । त्यहाँको चुनावी तरिकाबाहेक अन्यत्र कतै पनि प्रजातन्त्र भनिनु गलत हुने देखिन्छ । मस्त रमाइरहेको समयमा मेरो स्वास्थ्यमा समस्या आयो । त्यहाँको स्वास्थ्य सेवा महँगो भएको कारण दुई महिने भ्रमण योजनालाई छोट्टाएर नोभेम्बर ११ मा एअर इण्डियाको टिकट रद्द गरी चीनको सिचुवान एअरलाइन्समा हामी नेपाल फर्कियौं । 

(लेखक, प्राविधिक तथा विद्युतीय अभियन्ता सदन सञ्चालक)

टिप्पणीहरू