पिलो निचोर्दैमा तौल घट्दैन : एमाले अध्यक्ष
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बद्ख्वाईं गर्दै आएकालाई कारबाही गरिएको बताउनुभएको छ । पार्टी मुख्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा उठेका विषयमा जवाफ दिँदै उहाँले हालै कारबाहीमा परेका नेता भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनामाथि ढिलै भएपनि उचित निर्णय गरिएको दाबी गर्नुभएको छ ।
जवाफ दिने क्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘जसले पार्टीको पक्षमा कहिल्यै मुख खोलेको सुनिएन । नेतृत्वविरुद्ध सँधै सामाजिक सञ्जाल, मिडियामा धाउने । पार्टीको काम नगर्ने तर नेतृत्वको खोइरो खन्नेलाई छ महिना पनि पर्खन सकिँदैन ।’ बैठकमा सहभागी एक नेताका अनुसार उहाँले पाण्डे र तिम्सिनामाथि गैरसरकारी संस्थाको आडमा चम्किएको उल्लेख गर्नुभयो । भन्नुभयो, ‘चम्केर बोल्ने ? ठूला कुरा गर्ने ? एनजीओको डलरमा चलखेल गर्दैमा स्वाभिमानी होइन्छ ?’
उहाँले पार्टीको कारबाही र निष्कासनलाई पिलोसँग दाँज्नुभएको छ । भन्नुभयो, ‘पिलो निचोर्दैमा वजन घट्दैन ।’
टिप्पणीहरू