माघे संक्रान्ति नजिकिँदै, चाकु व्यवसायीको व्यस्तता बढ्दै (फोटोफिचर)

माघे संक्रान्ति नजिकिँदै, चाकु व्यवसायीको व्यस्तता बढ्दै (फोटोफिचर)
सुन्नुहोस्

माघे संक्रान्ति नेपालीहरुको एउटा प्रमुख चाड हो । यसलाई मकर संक्रान्ति र माघी पर्व पनि भनिन्छ । सोही दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्धमा प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने गर्छ ।

माघे संक्रान्तिका दिन विभिन्न पवित्र नदी तथा त्रिवेणी नदीमा स्नान गर्नेको घुइँचो लाग्छ । मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर माघे संक्रान्ति मनाउने चलन छ । यतिबेला काठमाडौंको टोखा क्षेत्र चाकुको बासनाले मग्मगाउन थालेको छ । 

चाकु उत्पादकलाई चाकु बनाउन र बिक्री गर्न भ्याइनभ्याइ छ । टोखास्थित काशीलाल चाकु प्रोडक्सनमा धमाधम चाकु उत्पादन भइरहेको छ । एक किलो चाकुको एक सय ४० रुपैयाँ पर्ने प्रोडक्सनले बताएको छ । त्यसैगरी, खुवाचाकु प्रतिकलो पाँच सय र दुवै प्रकारको तीलको लड्डु प्रतिकिलो तीन सय रुपैयाँ तोकिएको छ । 

टोखामा चाकु बनाउने १४ वटा उद्योग सञ्चालनमा छन् । २०१६ सालसम्म चाकु बनाउने उखु टोखामै उत्पादन हुन्थ्यो । त्यस ठाउँलाई तुँख्य अर्थात उखुबारी भनिन्थ्यो । हाल भारतबाट आयात गरिएको सख्खरबाट चाकु बनाउने गरिएको छ । पछिल्लो समय चाकु बाह्रैमास खपत हुने गरेको व्यवसायी बुद्ध श्रेष्ठले बताए । 

‘चाकुको माग बढेको छ । तर उत्पादनका लागि जनशक्तिको अभाव छ । हामी चाकु व्यवसाय गर्ने अन्तिम पुस्ता हुने होकि भन्ने चिन्ता बढेको छ’,उनले गुनासो पोखे ।

तस्बिरहरु

टिप्पणीहरू