सप्तरीमा ‘जनतासँग जसपा नेपाल’

सप्तरीमा ‘जनतासँग जसपा नेपाल’
सुन्नुहोस्

जनता समाजवादी पार्टी, नेपालको आधारभूत सङ्गठन निर्माण कार्यक्रमअन्तर्गत सप्तरीमा ‘जनतासँग जसपा नेपाल’ अभियान शुरु भएको छ । तीन दिवसीय अभियानको आज अध्यक्ष उपेन्द्र यादवले उद्धघाटन गरेका हुन् । 

सप्तरीको चार निर्वाचन क्षेत्रका तीन स्थानमा कार्यक्रम आयोजना गरिने सो पार्टीले जनाएको छ । अभियानको पहिलो दिन क्षेत्र नम्बर १ कञ्चनरुप नगरपालिका–८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । 

कार्यक्रममा केन्द्रीय नेतृत्वसहित क्षेत्रीय, पालिका र वडास्तरका नेता-कार्यकर्ताको सहभागिता रहेको छ । दोस्रो दिन भोलि क्षेत्र नम्बर २ र ३ को संयुक्त अभिमुखीकरण विष्णुपर गाउँपालिका–१ स्थित प्रसाहीमा हुने जनाइएको छ । पुस २६ गते क्षेत्र नम्बर ४ को खड्क नगरपालिकास्थित विष्णुपुर बजारमा प्रशिक्षण कार्यक्रम तय गरिएको छ । 

अशोक राईहरुले पार्टी फुटाएयता पछिल्लो पाँच महिनादेखि देशव्यापी अभियानमा होमिएको जसपाले वडास्तरसम्मै संगठन विस्तारका लागि ‘जनतासँग जसपा नेपाल’ आधारभूत संगठन निर्माण अभियान चलाएको हो । अभियानको म्याद थपगरी माघ मसान्तसम्म पुर्याइएको छ । 

लुम्बिनी प्रदेशमा पाँच दिवसीय कार्यक्रम सम्पन्न गरेलगत्तै अध्यक्ष यादव सप्तरी पुगेका थिए ।

 

टिप्पणीहरू