सुत्ने समय कसरी मिलाउनुभा’छ कमरेड ?
लेनिन भोलिपल्टको कामको तालिका हेरेर सुत्नुहुन्थ्यो रे ! अक्टोबर क्रान्ति सम्पन्न हुनु र रुसले छिटो प्रगति गर्नुमा लेनिनको यो गुणले निश्चितै काम गरेको या सहयोग पुर्याएको हुनुपर्छ । यस्तो कामअनुसार सुत्ने र उठ्ने तरिका हामीकहाँ पाइन्न । नाम नलिऊँ, हाम्रा कतिपय नेता यस्ता पनि देखिए, जो दिउँसो पार्टीको कार्यक्रममा भाषण गर्छन् र कार्यक्रम सकिएपछि रिसोर्टमा बास बस्न फर्किन्छन् । त्यहाँ लोकदोहोरीका लुम्पेनहरूलाई भेला पारेर हिन्दीमा ठुम्का भनेजस्तो कम्मर मर्काउँदै नाचेर मनोरञ्जन लिन्छन् । भोलिपल्ट दश बजेसम्म घुर्दै सुत्छन् । भोलिपल्टको कार्यक्रम कहाँ र कति बजे शुरु हुन्छ बालमतलव हुन्न । कार्यक्रम स्थलमा उपस्थितलाई दुई÷तीन घण्टा कुराएर बोर पार्छन्, कार्यक्रम नसुनी, नहेरी घर फर्किन बाध्य बनाउँछन् । अथवा आफैँले समय दिएर भेट्न बोलाएका कार्यकर्तालाई भेटघाट कक्षमा घण्टौं कुराएर आफू ६ महिना सुत्ने केजाति जस्तो अबेलासम्म सुत्छन् या भेटघाट कक्षमा आउन्नन् । यस्तो छ कम्युनिष्ट भनिने ठूला मान्छेको सुत्ने र उठ्ने संस्कृति । यसैबाट विवेचना गर्न सक्छौं हाम्रो समाजमा कामप्रति ठूला भनिनेहरूको दृष्टिकोण कस्तो रहेछ !
हिन्दीमा एउटा प्रसिद्ध कहावत छ ‘जो जिता वही सिकन्दर’ । किनभने मञ्च उसकै हुन्छ, माइक उसकै हुन्छ, सुन्ने उनकै मान्छे र ताली पिट्ने पनि तिनै । त्यहाँ फरकमत सुन्ने त कुनै सम्भावना नै रहन्न । किनभने त्यो त सिकन्दरको मञ्च हो । फरक मतलाई स्थान नै रहन्न । अखबार तुम्हारा, दरबार भी तुम्हारा, सचको गलत लिख दो कलम भी तुम्हारा । भ्रष्टाचारमाथि कारबाही गर्नै भनेर ल्याउन खोजिएको थियो त पाँच वर्षे कानुन ? कि पाँच वर्ष तर्काएपछि उन्मुक्ति दिलाउन भनेर ल्याउन खोजिएको थियोे ? देशलाई वार्षिक एक खर्ब २० अर्ब आम्दानी दिलाउन उतिबेला महाकाली सन्धि गरिएको थियो वा अरु नै कारण थियो ? जग्गा सट्टिपट्टीको कानुन साँच्चिकै गर्नकै निम्ति थियो कि त्यहाँ अरु नै केही रहस्य लुकेको छ ? तर, माथि भनेजस्तो जो जिता वही सिकन्दर । म नै स्टेट हुँ किनभने दरबार मेरो, अखबार मेरो र कलम पनि मेरो । मैले जे गर्छु, जे बोल्छु त्यो नै सत्य हो भन्ने अहंकारको जुन गहिराइ देखिरहेका छौँ, यसले खास गरेर शोषित, उत्पीडित मजदुर र किसानको हकमाथि प्रत्यक्ष धावा बोलिरहेको छ । भ्युटावर बनाउन जनताको पैसा खर्च गर्दा सिमेन्ट, गिट्टी, माटो बोक्ने मजदुरले काम पाए भन्नेजस्तो हास्यास्पद तर्क गर्नु श्रमजीवी जनताको पेटमा छुरा हान्नु हो । गरिब किसानका छोराछोरी यो जाडोमा स्कूल जान सक्दैनन् न्यानो लुगा नभएर । उनीहरू कक्षाकोठामा बस्न सक्दैनन् झ्याल–ढोका र बेञ्च नभएर । आफू वातानुकूलित घरमा बस्ने, वातानुकूलित गाडीमा शयर गर्ने तर जनताका छोराछोरीलाई चिसो सिरेटोमा एकसरो कमिजमा पढ्न पठाउने कुराजस्तो अमानवीय काम अरु केही हुन सक्दैन ।
म एक–दुई जनाको मात्रै कुरा गरिरहेको छैन । कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूको, अध्यक्षहरूको, प्रधानमन्त्री र मन्त्रीहरूको भाषण सुनौं, बातचित सुनौँ । बडी ल्यांग्वेजले पनि बोल्दैन कि उहाँहरू सही मानेमा मजदुर, किसानको हितैषी हो भनेर । सबै एक्सनले के देखाउँछ भने उहाँहरू केवल सत्ताको सुखभोग गर्नका निम्ति यहाँ हुनुहुन्छ । हिजोसम्म तिमी पाँच–पाँच पटक प्रधानमन्त्री बनेर यो देश र जनताको निम्ति के काम गर्यौ ? एउटा मात्रै काम बताऊ भनेर चुनौतीपूर्ण भाषामा बोल्ने प्रधानमन्त्री अहिले उनैलाई सत्ता हस्तान्तरण गर्न महिना, दिन र घण्टा गन्दै हिँडिरहेका छन् । यसमा कुनै पश्चाताप छैन, लाज छैन, नैतिकता छैन किनभने जो जिता वही सिकन्दर । कांग्रेसीहरूको कुरा अर्कै छ । तिनका एजेण्डा साफ छन् । अर्का छन् प्रमुख प्रतिपक्षी नेता, क्रान्तिकारी नेता । उनको कुरामा पनि सत्ताबाट बाहिरिनुपर्दाको पीडा मात्रै झल्किन्छ । भ्रष्टाचारको फाइल खोज्न लाग्दा मलाई गलहत्याइयो भन्ने र अब फेरि पनि म भइनँ भने संसारै सकिन्छ भन्ने विलापबाहेक अरु भेटिन्न उनको बोलीचाली र हाउभाउमा । जाडो आएको छ तर यो जाडोले ती गरिब मजदुर, किसानको जिन्दगीलाई कसरी कष्टकर बनाइरहेको छ भन्ने चासो र चिन्ता देखिन्न पीडा त परको कुरा भयो । देशको अर्थतन्त्र बलियो बनाउने, रोजगारी बढाउने, कृषि र उद्योगको विकास, बाटो बनाउने, शिक्षामा सुधार, राम्रो स्वास्थ्य प्रणालीको निर्माण कसैको प्राथमिकतामा परेको छैन ।
केवल चाहिएको सत्ता हो र चिन्ता सत्ता छोड्न नपरोस् वा सत्तामा कसरी पुग्ने भन्ने नै छ । अंग्रेजहरूले भारतमा डिभाइड एण्ड रुल थ्यौरी अपनाएर शासन चलाएका थिए । हामीकहाँ अहिले डाइभर्ट एण्ड रुलको थ्यौरी प्रयोग गर्न खोजिएको छ । अम्बेडकरले भनेका रहेछन्– जतिसुकै राम्रोसँग लेखिए पनि यदि खराब मान्छेको हातमा पर्न गयो भने त्यो संविधानले काम गर्दैन । यदि, सही मान्छेको हातमा नराम्रो नै लेखिएको प¥यो भने पनि त्यो संविधानले राम्रोसँग काम गर्छ । अहिलेको संविधान धेरै मिहिनेत गरेर तयार भएको हो । यसको प्रयोग के–कसरी हुनुपर्छ, भइरहेको छ वा हुनेछ भन्ने कुरा पनि प्रयोगकर्ताकै हात र नियतमा निर्भर छ ।
संसदको विघटन दुई–दुई पटक त भएकै हो । संविधान खराब भएर नभई गलत नियत राखेर विघटन गरिएको थियो । अहिलेको संविधानले कुनै काम गर्न कहीँ कतै रोकेको छ र ? छैन । अस्ति भर्खर होइन यही संविधानअन्तर्गत नै सुखी नेपाली, समृद्ध नेपाल बनाउने नारा लगाएको ? पानीजहाज र रेल कुदाउने भनेको ? ग्यासका पाइपलाइन घरघरमा पुर्याउने भनेको ? यी सबै गर्न कहाँनिर र कसरी रोक्यो यो संविधानले ? रेल र पानीजहाजका कार्यालय खोलेर करोडौं खर्च गरी घाटामा सञ्चालन गरिरहँदा पनि यो संविधानले त रोकेको छैन । त्यसकारण कुरा संविधानको नभएर आफ्नो नाकामीहरूलाई लुकाउन यो कुरालाई अगाडि ल्याइएको छ । देशमा रोजगारी सिर्जना गर्न नसक्ने, ठगी रोक्न नसक्ने, भ्रष्टाचार रोक्न नसक्ने, बाटो, नहर, पुल बनाउन नसक्ने अनि दोष संविधानलाई दिनु विशुद्ध जनताको ध्यान भड्काउने कुरा हो, अरु केही होइन । अहिले त मान्छेहरू अड्डासारको सिकार भइरहेका छन् । विरोधमा कालो झण्डा प्रदर्शन गर्दा पुलिसको डण्डा खाइरहेका छन्, नारा जुलुस र प्रदर्शन गर्दा पुलिसको खोरमा पुगिरहेका छन् । भोलि एकैठाउँमा शक्ति केन्द्रीकृत हुनपुग्यो भने के हालत होला हाम्रो स्वतन्त्रताको सहजै अनुमान गर्न सकिन्छ ।
संविधानको पूर्ण प्रयोग हुन नपाउँदै छोडिएको यो संशोधनको गुफा राम्रो प्याकेजिङ गरिएको विष हो, सचेत रहनुपर्छ । हाम्रोनिम्ति अहिलेको समस्या भनेको महँगी र बेरोजगारी हो । अरु त अरु पालिकाहरूमा समेत महँगी लादिएको छ । सामान्य सिफारिस चाहिए पनि हजारभन्दा तल शुल्क छैन । लाग्छ स्थानीय निकाय पैसा असुली गर्ने अड्डा हुन् । डनहरूले धम्क्याएर पैसा असुली गरेजस्तै यिनले पनि सिफारिस रोकेर पैसा असुली गरिरहेका छन् अर्थात् राज्यका एक्स्टोर्शन युनिट बनेका छन् । बजार कस्तो छ भन्ने कुरा त अब दैनिक साग, गोलभेंडा र धनिया किन्न जाने गृहिणीलाई सोधे पुग्छ । ग्यासको मूल्य कहाँ पुग्यो, तेलको मूल्य कहाँ पुग्यो, चामलको मूल्य कहाँ पुग्यो भन्ने कुरा १५ हजार तलब बुझेर चार जनाको परिवार पालिरहेको मजदुरलाई थाहा हुन्छ । जनतालाई बेरोजगार राख्नु, महँगी लाद्नु ठूलो राजनीतिक अपराध हो । यस्तो अपराधमा आफूलाई कम्युनिष्ट बताउने दल, नेता–कार्यकर्ता सामेल भएका छन् ।
न्याय, समानता र स्वाधीनताको निम्ति जस्तोसुकै संघर्ष गर्न पनि मान्छे पछि पर्दैन भन्ने कुरा प्यालेष्टाइनी जनताले अहिले चलाइरहेको संघर्षलाई हेर्दा थाहा हुन्छ । अहिले तलदेखि माथिसम्म जो–जो सत्तामा छन् र ज–जसले जनतामाथि शोषण र अन्याय थोपर्ने काम गरिरहेका छन् तिनीहरूविरुद्ध पनि संघर्ष हुने नै छ र जनताले तिनीहरूको अन्यायपूर्ण शासनबाट मुक्ति पाउने नै छन् । हामी एक युगमा आउने एक दिनको प्रतीक्षामा छौं जसले हामी सबैलाई मुक्ति दिलाउनेछ, बस् ।
टिप्पणीहरू