वार्षिक छ सय चलचित्र बन्ने चिनियाँ फिल्म इण्डष्ट्रीको ठमेलमा चर्चा

वार्षिक छ सय चलचित्र बन्ने चिनियाँ फिल्म इण्डष्ट्रीको ठमेलमा चर्चा
सुन्नुहोस्

विश्वको सबैभन्दा ठूलो चलचित्र बजार कुन हो ? धेरै फिल्म कहाँ बन्छ ? चलचित्र क्षेत्रमा उठ्ने यस्ता प्रश्नहरुको जवाफ खोजिएको छ– ‘चाइना फिल्म डे’ मा । 

ठमेलको छायाँ सेन्टरस्थित क्युएफएक्समा हिजो सम्पन्न ‘चाइना फिल्म डे’ मा नेपाल र चीनका चर्चित कलाकारहरुको बाक्लो उपस्थिति थियो । चाइना फिल्म एडमिनिस्ट्रेसन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा दुई देशका कलाकारहरुले आपसी सहकार्य र चलचित्र बजार विस्तारको सम्भावनाबारे खुलस्त कुराकानीसमेत गरे । 

कार्यक्रममा तीन चिनियाँ चलचित्र ‘हर स्टोरी’, ‘जी फर ग्याप’ र ‘मिडसमर्स भ्वाइस’ प्रदर्शनसमेत गरिएको थियो । फिल्म हेरेका अधिकांश नेपालीले भनेका थिए, ‘मेकिङ बबाल छ ।’ 

एक वर्षमा कति बन्छन् चिनियाँ चलचित्र ?

धेरैलाई लाग्छ, हलिउड विश्वको सबैभन्दा ठूलो फिल्म उद्योग हो भने ठूलो फिल्म बजार अमेरिका । तर, आर्थिक, राजनीतिक क्षेत्रमा जस्तै पछिल्लो समय चीनले फिल्म क्षेत्रमा पनि फड्को मारिरहेको छ ।  

चिनियाँ फिल्म एडमिनिस्ट्रेसनका निर्देशक सू याङले चीन विश्वकै ठूलो चलचित्र बजार भएको दावी गरेका छन् । चीनमा वर्षेनी छ सय हारहारीमा लामा चलचित्र निर्माण हुने गरेको आँकडा सुनाउँदै उनले त्यस्तो दाबी गरेका हुन् । ड्रामा र छोटा चलचित्र भने हजारौँको संख्यामा निर्माण भइरहेको याङले बताए  । 

उत्पादको हिसाबले चीन विश्वकै ठूलो चलचित्र बजार भए पनि प्रचार–प्रसारको अभावले हलिउडलाई ठूलो मान्ने गरिएको उनको बुझाई छ । याङको भनाईमा सहमत हुँदै कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका नेपाली प्रतिनिधिले चिनियाँ फिल्म बजार विस्तार भएकोमा खुशी व्यक्त गरेका थिए ।  

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चलचित्र क्षेत्रमा दुई देशबीच सहकार्य गर्न प्रस्तावसमेत राखेका छन् । हृदय खोलेर नेपालमा फिल्म छायाँकन गर्न उनले चिनियाँ पक्षलाई आग्रहसमेत गरे । छायाँकनका लागि आवश्यक नीतिगत सहयोग र सहजीकरणका लागि आफू तयार रहेको पुनले प्रतिवद्धता जनाए । 

चिनियाँ फिल्म नेपालमा छायाँकन हुँदा यहाँको चलचित्र बजार विस्तार हुने विश्वास जनाउँदै उनले भने, ‘चिनियाँ चलचित्रमा नेपाली भूगोलको दृश्य कैद हुँदा त्यसको फाइदा नेपाली चलचित्रलाई नै हो । विस्तारै चलचित्र बनाउने क्रम बढ्दै जान्छ, र त्यसले यहाँको पर्यटनलाई पनि टेवा पुर्याउँछ ।’

विश्वकै ठूलो फिल्म बजार भएको देशले नेपाली चलचित्रसँग समन्वय र सहकार्य गर्दा नयाँ सम्भावनाको ढोका खोल्ने पुनको विश्वास छ । ‘चीनमा हरेक वर्ष सयौँ चलचित्र बन्छन्, जनसंख्या पनि ठूलो छ । त्यहाँका चलचित्रलाई पनि यहाँ प्रदर्शनको व्यवस्था गर्न सकियो भने दुई देशको सांस्कृतिक तथा कलात्मक सम्बन्ध थप प्रगाढ बन्दै जानेछ’, उनले थपे । 

निर्देशक सू याङले नेपाली चलचित्र बजारको विस्तार र प्रर्वद्धनका लागि आफूहरू तयार रहेको बताएका छन् । अहिलेसम्म नेपालमा दर्जनौँ चिनियाँ चलचित्र खिचेको सुनाउँदै उनले नेपाली फिल्म भने चीनमा खासै छायाँकन नभएको जानकारी दिए । अब दुई देशका कलाकारले चलचित्र निर्माणमा सहकार्य गर्नसक्ने निर्देशक याङको भनाई छ ।

उनले भने, ‘एउटा कलाकार, निर्देशक वा निर्माताले चाहने भनेकै उसको चलचित्र सकेसम्म धेरै ठाउँसम्म पुगोस् भन्ने हो । आजको कार्यक्रमले त्यो सहकार्यको ढोका खोलेको छ ।’ 

त्यस्तै, चिनियाँ दूतावासका डिसिएम वाङ सीनले दुई देशको सांस्कृतिक सम्बन्धलाई चलचित्र मेकिङले सुदृढ बनाउने विश्वास व्यक्त गरे । केही महिनाअघि नेपाली हलहरुमा आक्रामक व्यापार गरेका दुई चलचित्रको प्रसंग पनि उनले कोट्याए । 

नेपालमा राम्रो चलचित्र निर्माण भइरहेकोमा खुशी व्यक्त गर्दै भने, ‘केही महिनाअघि पूर्णबहादुरको सारंगी र १२ गाउँको चर्चाले मलाई निकै खुशी मिल्यो । यी चलचित्र हेर्न दर्शकहरुको भीड लागेको देख्दा मलाई पनि यहाँ चिनियाँ चलचित्रको सम्भावना छ भन्ने लागेको छ ।’

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा पहिलोपल्ट आयोजना गरिएको ‘चाइना फिल्म डे’ ले दुई देशका कलाकारबीच सहकार्यको वातावरण बनाउने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जानुपर्नेमा उनले जोड दिए । 

के भन्छन् नेपाली कलाकार ? 

आफूलाई फरक–फरक देशको फिल्ममा देखिन रहर लागिरहने बताउँदै वरिष्ठ कलाकार नीर शाहले त्यसमध्ये एउटा चिनियाँ चलचित्र पनि रहेको स्पष्ट पारे । दुई देशका कलाकारहरुले चलचित्र मेकिङमा सहकार्य गर्दा दर्शकले नयाँ स्वाद पाउने उनको बुझाई छ ।

‘चाइना फिल्म डे’ ले त्यो वातावरण बनाउनसक्ने अपेक्षा गर्दै भने, ‘यो कार्यक्रमले दुवै देशका कलाकारबीच राम्रो सम्बन्ध स्थापित गरेको छ । यो भनेको आगामी दिनमा चलचित्रले नयाँ चिज पाउँदैछ भनेर बुझ्नुपर्छ ।’

अर्का वरिष्ठ कलाकार सुनिल थापाले पनि चिनियाँ चलचित्र मेकिङको खुलेरै प्रशंसा गरे । आफूले विभिन्न भाषाका चलचित्रमा काग गरेको अनुभव सुनाएका उनले अगाडि भने, ‘मैले बलिउड र हलिउडका केही चलचित्रमा पनि काम गरे, तर नजिकबाट थाहा पाए अनुसार चिनियाँ चलचित्रको निर्माण नै पृथक र नयाँ छ ।’

हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले पनि ‘चाइना फिल्म डे’ को कार्यक्रमले चिनियाँ चलचित्रबारे धेरै कुरा जानकारी पाउन सहयोग पुर्याएको बताए । नेपालमा वार्षिक ४० देखि ५० वटा चलचित्र निर्माण हुने प्रसंग कोट्याउँदै भने, ‘चीनमा एक वर्षमा ६–७ सय चलचित्र बन्दो रहेछ । त्यति ठूलो चलचित्र बजारले नेपाललाई सम्झिनु आफैँमा सुन्दर कुरा हो ।’

टिप्पणीहरू