सरकारी वकिलको जिकिर : लामिछानेलाई छाड्दा प्रमाण नष्ट हुन्छ
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेको जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस चलिरहेको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिलहरूले बहस गरिरहेका छन् । हालसम्म जिल्ला न्यायाधिवक्ता खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापाले बहस गरिसकेका छन् ।
बहसका क्रममा सरकारी वकिलहरुले लामिछानेसहितका प्रतिवादीलाई थुनामै राख्नुपर्ने आधार र कारणहरु पेश गरेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लागेका प्रतिवादीलाई थुना बाहिर राख्दा प्रमाण नष्ट हुने उनीहरुको जिकिर छ ।
कास्की जिल्ला अदालतको आदेशलाई बिर्सिएर प्रतिवादी रवि लामिछानेलाई थुनामै राख्नुपर्ने सरकारी वकिलको तर्क छ । बहसका क्रममा एक जना वकिलले लामिछाने जत्तिको व्यक्तिबाट कानुनको अनभिज्ञता क्षम्य हुन नसक्ने बताए ।
सरकारी वकिलपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ । त्यसपछि प्रतिवादीका वकिलहरुले प्रतिरक्षा बहस गर्नेछन् । सरकारी वकिलले पुनः जवाफी बहस गरेपछि अदालतले आदेश सुनाउने छ । अहिलेसम्मको बहसको अवस्थालाई हेर्दा आजै आदेश आउने सम्भावना कम देखिन्छ ।
टिप्पणीहरू