अरुको उछित्तो काढ्ने एमाले महासचिव अध्यक्षसँग लपक्कै
सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा पर्नेहरुले नै सरकारको विरोध गरिरहेको टिप्पणी गरेका छन् । गृह जिल्ला दाङमा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र सरकारविरुद्ध भ्रामक प्रचार गर्न विपक्षीहरु गोलबन्द भएको आरोप लगाएका हुन् ।
पोखरेलले शुरुमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे । ‘जनताले नपत्याएका तर शासनको टाउकोमा बस्नुपर्ने, शासन गुमेपछि सम्हालिन नसक्ने, तथानाम गाली गर्दैै हिँड्नुपर्ने, भ्रम सिर्जना गर्दै हिँड्नुपर्ने’, असन्तुष्टि पोख्दै भनिएको छ, ‘आज जसरी केपी ओलीविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड बोलिराखेका छन्, केपी ओलीले साथ दिँदाखेरी तिनको त्यो बोली कहाँ हराएको थियो ?’
रवि लामिछानेलाई कुनै बेला प्रधानमन्त्री ओलीले नै गृहमन्त्री बनाएको तर अहिले रास्वपा कार्यकर्ता एमालेबिरुद्ध लागि परेको पनि उनको आरोप छ । ‘आज राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ताको समग्र प्रहार केपी ओलीमाथि छ, एमालेमाथि छ । हिजो रवि लामिछानेलाई गृहमन्त्री हुनुपर्दा माग्ने ठाउँ एमाले थियो, केपी ओली हुनुहुन्थ्यो, तर आज केपी ओलीका विरुद्धमा प्रहार भइरहेको छ’, उनले थपे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झन् प्रधानमन्त्री ओलीको सहयोग नपाएको भए चुनाव जित्नै नसक्ने पोखरेलको ठोकुवा छ । ‘अर्को त्यही राजेन्द्र लिङ्देनलाई चुनाव जित्न केपी ओलीको र एमालेको सहयोग चाहिने, आज प्रहारको निशाना एमाले पार्टी, केपी ओली’, उनले सोधे, ‘आज उनीहरु जे भन्दैछन्, त्यही सत्य हो भने त्यो बेला सहयोग किन मागेको ?’
विपक्षीमाथि चर्को प्रहार गरेका पोखरेलले सत्ता साझेदार नेपाली काँग्रेससँग पनि गुनासो पोखे । दाङमा भएका विकासका ठूला परियोजना एमालेले सम्पन्न गरे पनि काँंग्रेसले मात्र जस पाइरहेकोमा उनको दुःखेसो छ ।
राप्ती र बबई नदीको पुलको प्रसंग कोट्याउँदै भने,‘नेपाली काँग्रेसले यति भजाएर खायो कि हाम्रो नेताको कारणले गर्दा यति ठूला काम भयो भनेर, मलाई लाग्छ दुई चार वटा चुनाव त उनीहरुले पुलको बखान गरेर चुनाव जित्न सफल भए ।’
टिप्पणीहरू