रुपन्देहीमा रविबिरुद्ध पर्सि मुद्धा दर्ता

रुपन्देहीमा रविबिरुद्ध पर्सि मुद्धा दर्ता फाइल फाेटाे
सुन्नुहोस्

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी प्रकरणमा संलग्नमाथिको पुरक मुद्धा अदालत खुल्नेबित्तिकै संभवतः पर्सी बिहिवार दर्ता हुँदैछ । बुधवार लुम्बिनी प्रदेश सरकारले माघी पर्वका लागि थप बिदा दिएपछि अदालतहरु आज बन्द रहेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा पुरक मुद्धा दर्ता गर्न सार्वजनिक बिदाको दिनमा समेत बिहान ४ बजेदेखि राती १२ बजेसम्म खटिएर तयारी गरेको छ ।

करिब ३ सय ५० पृष्ठ लामो पुरक अभियोगपत्र दर्ता गर्ने तयारी रहेको बुझिएको छ । सुप्रिम सहकारीको ठगी प्रकरणमा तत्कालिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र गोर्खा मिडिया प्रा.लि. लाई उन्मुक्ति दिने गरी २०८१ बैशाख ३ गते रुपन्देही जिल्ला अदालतमा मुद्धा दायर भएको थियो । त्यसबेला बहालवाला गृहमन्त्रीलाई प्रहरीले प्रतिवादी बनाउनै नसकेको भए पनि अहिले पुरक अनुसन्धान गरी उनीबिरुद्ध अभियोग दाबीसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाइएको थियो । पुस २६ मा बुझाइएको झण्डै एक हजार दुई सय पृष्ठ लामो प्रतिवेदनमा लामिछानेले सहकारीबाट लिएको २ करोड रुपैयाँ कर्जा तथा गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा गएको रकम १० करोड ९९ लाख रुपैयाँ ठगी गरेको मुद्धा दायर हुँदैछ । 

सरकारी वकिल श्रोतका अनुसार सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा मुद्धा चलाउन लागिएको छ । सुप्रिमका पूर्व अध्यक्ष तथा सल्लाहकार ओखलढुङ्गा बलम्बुका गितेन्द्रबाबु राई (जिबी राई), उपाध्यक्ष छविलाल जोशी, प्रबन्ध निर्देशक रवि लामिछानेसहित करिब २० जनाबिरुद्ध पुरक मुद्धा दायर हुँदैछ ।

पुरक मुद्धा दर्ता गर्न सार्वजनिक बिदाको दिनमा समेत बिहान ४ बजेदेखि राती १२ बजेसम्म खटिएर तयारी गरेको छ । करिब ३ सय ५० पृष्ठ लामो पुरक अभियोगपत्र दर्ता गर्ने तयारी रहेको बुझिएको छ । 

गोर्खा मिडिया नेटवर्क प्रा.लि.को प्रबन्ध निर्देशक हुँदा भटाभट चेक काट्दै आफ्नो,श्रीमती निकिता, उनको नाममा रहेका कम्पनी र लामिछानेकै आफ्नै खातामा पैसा सारेका रविबिरुद्ध पोखरामा सूर्यदर्शन र काठमाण्डौंमा स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्धा चलिरहेको छ । अन्य सर्वसाधारणलाई सामान्य मुद्धामा समेत थुनामा पठाउने गरिएकोमा कास्की जिल्ला अदालतले भने सर्वसाधारणको करोडौं रुपैयाँ अपचलन गर्ने रविलाई भने ६६ लाख रुपैयाँ धरौटीमा छाडेको छ । स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानको सिलसिलामा उनी काठमाण्डौं प्रहरीको हिरासतमा छन् । 

सुप्रिम सहकारीको १ अर्ब २ करोड रुपैयाँ हिनामिना प्रकरणमा सहकारीका अध्यक्ष बुटवल उपमहानगरपालिका वार्ड नं. ८ का ओमप्रकाश गुरुङ्ग भने पुर्पक्षका लागि थुनामा छन् । मुद्धा दायर गरिएका २८ जनामध्ये पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसहित ६ जनालाई अदालतले धरौटीमा रिहा गरेको छ । अरु प्रतिवादीहरुलाई फरार सूचीमा राखिएको छ ।

सुप्रिम सहकारीका अध्यक्ष तथा बचतकर्ताले जिबि राईले करोडौं हिनामिना गरेको जाहेरी दिएपछि भएको अनुसन्धानमा अध्यक्ष ओमप्रकाश गुरुङ्ग गत बर्ष फागुन ३ मा पक्राउ परेका थिए । बैशाख ३ गते सरकारी वकिल कार्यालयले मुद्धा दायर गरेको थियो । बैशाखमा मुद्धा दायर हुँदाका बखत लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए । उनी २०८० फागुन २३ देखि २०८१ असार ३० सम्म पदमा बहाल रहेको र विभागीय मन्त्री भएका कारण प्रहरीले उनलाई सहकारी ठगीमा अनुसन्धानको दायरामा ल्याउन सकेको थिएन ।

सुप्रिम सहकारीबाट गोर्खा मिडियामा कुनै उद्देश्यबिनै १० करोड ९९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको पाइएको छ । २०७७ असोज ११ मा पहिलो पटक गोर्खा मिडियाको सिद्धार्थ बैंक लि.को खाता नं. ००११५९७८०९७ मा १ करोड रुपैयाँ पठाइएको छ । २०७७ माघ २८ मा छविलाल जोशीको नाममा २ करोड ५० लाख कर्जा देखाई गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खाता नं. ०४०१०१००००५७७ मा पैसा पठाइएको छ । प्रबन्ध निर्देशक लामिछानेको नाममा कर्जाको कागज बनाइ २०७७ चैत १८ मा २ करोड रुपैयाँ ग्लोबल आईएमई बैंकमा जम्मा भएको छ । २०७८ बैशाख ५ मा सिद्धार्थ बैंकमार्फत १ करोड रुपैयाँ, बैशाख ९ मा ग्लोबल आईएमई बैंकमा ३० लाख, २०७८ असार ३ मा १ करोड, असार २२ मा सहकारीका संचालक कुमार रम्तेलको नाममा कर्जा बनाई १ करोड ३ लाख ३६ हजार, असोज १३ मा ५० लाख र असोज २४ मा २५ लाख पठाइएको छ ।

२०७८ पुस १२ मा विपिन कुमार आचार्यको नाममा कर्जा खडा गरी १ करोड ५६ लाख १५ हजार ग्लोबल आईएमई बैंकको खातामा हालिएको छ । १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडियामा गएकोमा ३ करोड ३० लाख रुपैयाँ संचालक भूपेन्द्र बाबु राईको नाममा कर्जा देखाइएको छ ।

रविले प्राईम टिभीका नाममा चर्का चर्का कार्यक्रम चलाउँथे, अरुमाथि दोहोलो काढ्थे, तर जब उनलाई पैसा आवश्यक पथ्र्यो जिबि र छवि संलग्न सहकारीहरुबाट पैसा पठाउन दवाव दिने गरेका थिए । गोर्खा मिडिया नेटवर्कमै गएको त्यत्रो पैसा आफैले चेक काट्दै मास्ने र अहिले बयानका क्रममा थाहा भएन, चेकमा साइन गरेको थिएँ भनेर भन्दा न्यायाधिशले पत्याउने अवस्था सिर्जना भएको छ । सुर्यदर्शन सहकारीका बचतकर्ताले आफूहरुमाथि अन्याय भएको बताइरहँदा स्वर्णलक्ष्मीका बचतकर्ताको मन दुख्ने हो हेर्न बाँकी छ ।
 

टिप्पणीहरू