दमकल नछिर्ने गल्लीमा अब ‘ड्राइराइजर’
काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइराइजर’ जडान गर्न थालेको छ ।
महानगरको विपद् व्यवस्थापन विभागले वडा कार्यालयसँगको साझेदारीमा ड्राइराइजर जडान गर्न लागेको हो । पहिलो चरणमा वडा नम्बरको ३ को सुरुङ गल्लीमा ८२ मिटर पाइप जडान गरिएको छ ।
यस्तै, वडा नम्बर ७ को कुटी गल्लीमा २०७ मिटर, वडा नम्बर ६ को संगम टोलमा २२८.२० मिटरसहित वडा नम्बर १० का पाँच वटा गल्लीमा पनि उक्त प्रणाली जडान गरिएको छ । जसअनुसार मंगल गल्लीमा २२५ मिटर, मुल्मी गल्लीमा १२० मिटर, घण्टी गल्लीमा दुई सय मिटर, तीनधारा गल्लीमा २५ मिटर र कलाकार गल्लीमा १७२ मिटरको पाइप जोडिएको हो ।
वडा नम्बर १५ को जगडोल टोल अन्नपूर्ण चोकमा ३७३ मिटर, वडा नं. १६ को फुलबारी गल्लीमा १६७.८० मिटर र बगैँचा गल्लीमा २५२.५५ मिटर, वडा नं. १७ को कालधारा गल्लीमा २५३.२० मिटर, जोगीपाखा मार्गमा ४९.८० मिटर र ज्यापू मार्गमा १७४.२० मिटर पाइप जडान भएको महानगरले जनाएको छ ।
पाइप जडान भएका स्थानमा अहिले जुद्ध बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरुले परीक्षण गरिरहेका छन् । वडा नम्बर २१ को ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्मको गल्लीमा १३० मिटर पाइप जडान गरेर गएको वर्ष नै परीक्षण गरिएको महानगरको भनाइ छ ।
यसको लागत करिब ८ लाख रुपैयाँ हो । वडा नं. २९ को कालिञ्चोक मार्ग, वडा नं. २५ को मांस गल्ली हुँदै महाबौद्धतर्फको गल्लीमा पनि प्रणाली जडान भइसकेको महानगरले बताएको छ ।
दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ । ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ ।
दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ । दमकलबाट आठ बारको प्रेसरमा पानी पठाउँदा सात तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।
टिप्पणीहरू