माउण्टेन रेसमा प्रथम हुनेलाई एक लाख १० हजार, सहभागीलाई पाँच लाखको बीमा

माउण्टेन रेसमा प्रथम हुनेलाई एक लाख १० हजार, सहभागीलाई पाँच लाखको बीमा
सुन्नुहोस्

‘पाँचौ लिष्टिकोट दुगुनागढी माउण्टेन ट्रेल रेस, २०८१’ प्रतियोगिता हुने भएको छ । खेलकुद विकासमा टेवा पुर्याउन, सैनिक र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाउन सिन्धुपाल्चोकस्थित नेपाली सेनाको ईन्द्रध्वज गण र भोटेकोशी गाउँपालिकाको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागिएको छ ।

माघ २६ गते हुने २४.५ किलोमीटर लामो दौड तातोपानी भन्सार ड्राईपोर्ट हुँदै दुगुनागढी पुगेर टुँगिने छ । रेसमा नेपाली र विदेशी दुवै नागरिकले सहभागिता जनाउन सक्ने सेनाले जनाएको छ । 

सहभागी हुन इच्छुकलाई माघ १५ गतेसम्म नाम दर्ता गराउनसमेत आग्रह गरिएको छ । सैनिक केन्द्रीय पुस्तकालय, चौतारा, मेलम्ची, बाह्रबिसे, झिर्पुस्थित आर्मी ब्यारेकहरु र भोटेकोशी गाउँपालिकामा स्वयम् उपस्थित भई वा इमेल तथा फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ । 

सेनाका अनुसार खुल्ला, महिला र भोटेकोशी गाउँपालिकातर्फ गरी प्रतियोगिता तीन विधामा हुनेछ । खुलातर्फ प्रथम हुनेले एक लाख १० हजार रुपैयाँ नगद पुुरस्कार पाउने छन् । दोस्रोले ७५ हजार र तेस्रोका लागि ५० हजार रुपैयाँ नगद पुरस्कार तोकिएको छ । 

महिलातर्फ पहिलो हुनेले ७० हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । भोटेकोशी पालिकाबासीतर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार तोकिएको छ ।

प्रतियोगितामा भाग लिने खेलाडीको दौड अवधिभरका लागि पाँच लाख रुपैयाँ बराबरको निःशुल्क दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।

टिप्पणीहरू