चौधरी सरको भाइमारा चाल
कानुनको छिद्र खोज्दै बर्सेनि अर्बाैंको कर छल्ने विनोद चौधरी ‘माछो भेट्दा दुलोभित्र हात, सर्प छुँदा बाहिर हात’ गर्नमा माहिर मानिन्छन् । काठमाडौंको बाँसबारीस्थित छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा च्याम्पियन फुटवेयरका नाममा हडपेबापत सिआईबीलाई गत वर्ष बयान दिएका उनले उक्त जग्गा फिर्ता गरेर थप मुद्दा नचल्ने गरी सर्वोच्चको मुद्दा हापेका छन् । यही प्रकरणमार्फत् उनको भाइमारा बानी उदांगो भएको छ ।
फुटवेयर कारखाना बन्द भएपछि उक्त जग्गामा विनोदले चाँदबाग स्कूल सञ्चालन गरेका थिए । तर, कानुनी किचलोबाट बच्न उक्त जग्गा कान्छा भाइ अरुणको नाममा राखिदिए । यदि त्यस्तो चतुर्याई नगरेको भए सरकारी जग्गाको स्वामित्व किर्तेबाट आफूमा सारेको अभियोगमा यतिखेर उनी पनि रवि लामिछाने झैँ सांसद पदबाट प्रहरी हिरासत हुँदै निलम्बित भैसक्ने थिए । स्कूल आफ्नो, जग्गा भाइको, नाफा आफूलाई, झमेला भाइलाई । रगतको नातालाई त फसाउन नछाड्ने उनले पूर्वसचिव, आईजीहरू र सर्वसाधारणलाई झन् कतिसम्म डुबाएका होलान् ?
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा र स्कूलको स्वामित्वमा त परसम्मको सोचेर यसरी दिमाग लगाउनेले राजश्व र कर छलीमा के के मात्रै गरेका होलान् ? सहजै अनुमान लगाउन सकिन्छ । उक्त जग्गाको स्वामित्व किर्ते र ठगीको अभियोगमा चौधरी खलक र चाँदबागका सञ्चालकलाई सरकारले माघ ९ गतेभित्र मुद्दा दायर गरिसक्नुर्ने अवस्था छ । यसका लागि प्रहरीले पुस दोस्रो साताअगावै ठहरसहित सबै कागजात सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । मालपोत र नापी विभागलगायत सरकारी निकायविरुद्ध चौधरीले गत वर्ष नै दूषित कागजात बदर गरिपाऊँ भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा अन्तरिम आदेश प्राप्त नभएपछि चौधरी वादी र सरकार प्रतिवादी रहेको मुद्दा विचाराधीन छ । यता, सरकार वादी मुद्दा दायर हुने भएपछि विनोदले अघिल्लो साल हाल्न लगाएको मुद्दा भाइलाई फिर्ता लिन लगाएका छन् । सोही मुद्दा फिर्ता लिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न गरेको अनुनयलाई बालुवाटारले एक कानले सुनेर अर्को कानले उडाइदिएपछि चौधरी गृहमन्त्री रमेश लेखकको शरणमा पुगेको बताइन्छ । स्रोत भन्छ, ‘प्रधानमन्त्रीले मतलब नगरेपछि गृहमन्त्रीलाई भेटेर किर्तेमा मुद्दा नचल्ने गरी उनले मुद्दा फिर्ता लिन भाइलाई अह्राएका हुन् ।’ सोहीअनुसार अदालतले आदेशसमेत दिइसकेको छ ।
पुस दोस्रो साता नेपाल आएका श्रीलंकन पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेको सुरक्षा चाँजोपाँजो चौधरीले भनेर उनै गृहमन्त्रीले मिलाइदिएका थिए । स्वदेश फर्कने क्रममा १८ गते मध्यान्ह विक्रमासिंघे प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका थिए । चौधरीले जति आग्रह गरेपनि प्रधानमन्त्रीले वास्ता नगरेपछि उनै गृहमन्त्रीमार्फत् रनिलसँगै बालुवाटार छिरे ।
टिप्पणीहरू