प्रहरीले कानुन टेक्ने कि सडकमै लात्ती बर्साउने ?

प्रहरीले कानुन टेक्ने कि सडकमै लात्ती बर्साउने ?
सुन्नुहोस्

नेपाल प्रहरी ‘मुस्कानसहितको प्रहरी र प्रहरी मेरो साथी’ अभियान चलाउने,अनुगमनका लागि सडकमा खट्नेले चाहिँ  आम सर्वसाधारणलाई लखेटीलखेटी लात्ती हान्ने ! प्रसंग हो चितवनमा हिजो रातिको घटना । भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक युवकमाथि निर्घात कुटपिट गरेको छ ।

चेकिङ्गमा खटिएको प्रहरीले एक युवकलाई मरणासन्न हुनेगरी लात्तीले हिर्काएका हुन् । बाइकमा आएका ती युवकले मदिरा सेवन गरेका थिए । प्रहरीले चेकिङ्ग गर्न खोज्दा उनले ‘फोन गर्दिम ?’ भन्दै धम्काए। त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’,‘माथिको पावर देखाउने ?’,‘फोन गर, कसलाई फोन गर्छस्,फोन गर’ भन्दै ती युवकको तिघ्रामा बुट लगाएको खुट्टाले हिर्काएको भिडियो भाइरल भएको छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ता तेज सिलवाल(सिन्धुली) ले प्रहरीमाथि छानबिन गर्न माग गरेका छन् । उनी लेख्छन्,‘जतिसुकै गल्ती गरे पनि कानुन छ,हत्कडी लगाएर थुनामा लान सकिन्छ तर प्रहरीको यो हर्कत यति सारो ज्यादती गर्नु हुन्थेन । छानबिन गरियोस् ।’

लक्ष्मण श्रेष्ठ भन्छन्,‘नेपाल प्रहरीले सर्वसाधारण जनतालाई यस्तो निर्मम तरिकाले कुट्नु भएन । यदि गल्ती नै गरेको रहेछ भने पक्रेर अफिसमा लगी कानुनी कारबाही गर्नुपर्छ । जनतालाई कुटपिट गर्ने अधिकार छैन ।’ उक्त घटनाले प्रहरीप्रति आम नागरिकको अविश्वास बढाएको कृष्ण अधिकारीको भनाइ छ । 

‘फोन गर्ने ?’,‘माथिको पावर देखाउने ?’,‘फोन गर, कसलाई फोन गर्छस्,फोन गर’ भन्दै ती युवकको तिघ्रामा बुट लगाएको खुट्टाले हिर्काएको भिडियो भाइरल भएको छ ।

‘यो सन्देश लेख्दै गर्दा म अत्यन्तै स्तब्ध र आक्रोशित छु । बर्दीको आडमा गरिएको यस्तो दादागिरी सह्य छैन । प्रहरी जनताको सुरक्षा गर्नको लागि हो,आतंक सिर्जना गर्नका लागि होइन । यदि नागरिकले कुनै गल्ती गरेको छ भने,कानुनको प्रक्रियाअनुसार सजाय दिइनुपर्छ,तर यो कुनै पनि हालतमा कुटपिटको बहाना बन्दैन’,उनले भनेका छन्,‘यो घटना अत्यन्तै निन्दनीय छ र यसले सम्पूर्ण प्रहरी संगठनको छवि बिगार्ने काम गरेको छ । यस्तो अमानवीय व्यवहारलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन । म तत्काल दोषी प्रहरीमाथि कडा कारबाही होस् भन्ने माग गर्दछु । यो प्रकारको हिंसाले प्रहरीप्रतिको जनविश्वासमा गम्भीर चोट पुर्याउँछ ।’

जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोले कुटपिट गर्ने प्रहरीको पहिचान भइसकेको बताए । उनका अनुसार ती प्रहरी सहायक निरीक्षक (असई) दर्जाका हुन् । त्यसैगरी,कुटपिट भएको व्यक्तिबाट खुकुरी बरामद भएको उनले जानकारी दिए । 

‘कुटपिट गर्नेमाथि हामीले कारबाही गर्दैछौं । कुटिएको व्यक्तिले मादक पदार्थ सेवन गरेका रहेछन् । उनलाई बुलेट बाइकसहित प्रहरी कार्यालय ल्याइएको थियो । उनलाई चोटपटक लागेको छैन । उनको साथबाट खुकुरी बरामद भएको छ’,जनआस्थासँग कुराकानीको क्रममा उनले भने ।

भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/share/r/1XKnzsEtXz/?mibextid=rS40aB7S9Ucbxw6v

 

 

टिप्पणीहरू