चौथीको लफडाबाट मुक्त छवि भन्छन् ‘पाँचौंबारे अहिल्यै केही बोलिँदैन’

चौथीको लफडाबाट मुक्त छवि भन्छन् ‘पाँचौंबारे अहिल्यै केही बोलिँदैन’
सुन्नुहोस्

नेपाली चलचित्र वृतमा ‘बाघ निर्माता’ भनेर चिनिने छविराज ओझाले पूर्व श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेलसँगको लफडा टुंगो लगाएका छन् । उनले झण्डै पाँच वर्षपछि शिल्पासँगको मुद्दामा पूर्णविराम लागेको बताएका छन् ।
 
२०७३ असारमा छविले चौथो श्रीमतीको रुपमा शिल्पालाई भित्राएका थिए । ‘हवल्दार सुन्तली’ र ‘मंगलम’ चलचित्र निर्माण गर्दा–गर्दै उनीहरु नजिक बनेको निकटस्थहरु बताउँछन् । उमेरले झण्डै ३० वर्ष कान्छी शिल्पासँग बिहे गरेका छविको सम्बन्ध लामो समय भने टिक्न सकेन । 

बिहे गरेको दुई वर्षमै ओझा र पोखरेलबीच खटपट सुरु भएको उतिबेलै चर्चा चलेको थियो । २०७६ असारमा शिल्पाले श्रीमानले घरेलु हिंसा गरेको भन्दै छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उनले अदालतमा पनि सम्बन्ध विच्छेद र मानाचामलको मुद्दा दायर गराएकोमा छविले आधा सम्पत्ति दिनुपर्ने आदेश भएको थियो । तर छविले आफैं १० करोड ऋणमा डुबेको बताएपछि शिल्पासँगको लफडा लम्बिएको थियो । अन्ततः अहिले छवि काठमाडौँको एउटा घर दिन तयार भएपछि शिल्पासँगको मुद्दा किनारा लागेको हो । 

बेला–बेला छविमाथि चलचित्रमा नयाँ हिराइनहरुलाई डेब्युसँगै ‘रमाइलो’ गर्दै पछि लगनगाँठो कस्ने गरेको आरोप लाग्दै आएको छ । छविको जीवनमा जोडिँदै र छुट्टिँदै गरेका महिलाहरुको सूचीले पनि उक्त आरोपलाई एक हदसम्म बल पुर्याएको देखिन्छ । तेस्री श्रीमती रेखा थापालाई पनि छविले नै चलचित्रमा डेब्यु गराएका थिए । छविसँग सम्बन्ध विच्छेद गर्दा रेखाले भने एक रुपैयाँ पनि मागेकी थिइनन् । दोस्री श्रीमती गिताञ्जलीलाई पनि केहि चलचित्रमा खेलाएका थिए । यद्यपि, उनी हिट हुन सकिनन् । 

छविले हालै नयाँ चलचित्र ‘मंगलम २’ को घोषणा गरेका छन् । त्यसका लागि नयाँ अनुहार (अभिनेत्री)को खोजीमा रहेको उनीनिकट एक चलचित्रकर्मीले जानकारी दिए । छविले नयाँ चलचित्रमा कुन अभिनेत्रीलाई डेब्यु गराउँछन् र कस्तो सम्बन्ध बनाउँछन् ?, आगामी दिनमा पाँचौं श्रीमतीको श्रीमान् हुन्छन् वा हुँदैनन् ? त्यो भने भविष्यमा थाहा हुनेछ । तर यतिखेर शिल्पासँगको लफडाबाट मुक्त भएर राहतको सास फेरिरहेको बताइन्छ । 

जनआस्थाले छविलाई सम्पर्क गरेर ‘अब पाँचौं बिहेको योजना छ ?’ भनेर प्रश्न गरेको थियो । जवाफमा उनले भने, ‘वर्षौंदेखिको मुद्दा–मामिलाबाट भर्खर मुक्त भएको छु । बिहे निजी मामिला हो, अहिले केहि बोलिँदैन । चलचित्रको काममा व्यस्त हुँदैछु ।’
 

टिप्पणीहरू