चौधरी समूह ‘फ्लप’, गोल्छाको ‘इन्ट्री’
यस वर्ष नेपाली चलचित्रको बजार निकै गुल्जार छ । केकी अधिकारीको ‘बोक्सीको घर’देखि दयाहाङ राईको ‘कार्साङ’सम्म आइपुग्दा झण्डै एक दर्जन फिल्मले १० करोडमाथिका व्यापार गरेका छन् ।
‘पूर्णबहादुरको सांरगी’ले नेपालभित्र मात्रै ४७ करोड र विश्वव्यापी रुपमा ६५ करोडभन्दा बढी कलेक्शन गरेर बनाएको ऐतिहासिक रेकर्ड पनि छँदैछ । सायद, यस वर्ष धेरै चलचित्रले राम्रो दर्शक पाएको तथ्यले होला, यतिबेला धेरै निर्माताहरु नयाँ ‘प्रोजेक्ट’को सुरसारमा देखिदैँ छन् ।
यसैबीच व्यवसायीक घराना गोल्छा समूहले पनि चलचित्रमा हात हालेको छ । शेखर गोल्छाले नयाँ चलचित्र ‘परान’मा लगानी गर्न लागेका हुन् । चलचित्रको औपचारिक घोषणा गर्न हिजाे आयोजित कार्यक्रममा गोल्छा पनि सुटबुटसहित देखा परे ।
चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईली, महेश त्रिपाठीलगायतको अभिनय रहने बताइएको छ । बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने यसले चलचित्र विकास बोर्डबाट इजाजतसमेत लिइसकेको बुझिएको छ ।
एउटा रोचक के छ भने, चलचित्रमार्फत् दिपक आचार्य उर्फ काकुले निर्देशनमा डेब्यु गर्दैछन् । ‘सक्किगो नि’ नामक सिरियलबाट चर्चामा आएका आचार्य टिमबाट छुट्टिएका एकमात्र कलाकार हुन् । उनीसँगै सहकार्य गर्ने अन्य कलाकारले ‘लाज शरणम्’ निर्माण गरिसकेका छन् ।
प्रदर्शनको संघारमा रहेको यस चलचित्रको हाल प्रचार प्रसार काम भइरहेको छ । यसरी टिमबाट अलग बनेका आचार्यको निर्देशन र चर्चित व्यवसायी गोल्छाबीचको यो सहकार्यले कस्तो चलचित्र निर्माण हुनेछ, त्यो भने पछि नै थाहा हुनेछ ।
स्मरण रहोस्, यसअघि विवादास्पद डर्लर अर्बपति विनोद चौधरीको सिजी ग्रुपले पनि चलचित्रमा लगानी गर्दै 'भिषा गर्ल' निर्माण गरेको थियो । तर, फिल्म सुपरफ्लप भएपछि त्यसयता चलचित्रबाट हात झिकेको अवस्था छ ।
टिप्पणीहरू