मापसेको तालमा नाइटबस गुटुटु
गत मंसिर २९ गते पोखराबाट नेपालगञ्जका लागि छुटेको रात्रि बसलाई तनहुँको तालघरेमा ट्राफिकले चेक गर्दा चालक मापसे गरेर बस चलाइरहेको अवस्थामा फेला परे । यात्रु भराभर अवस्थामा फेला परेका चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, दमौली चलान गरे, वैकल्पिक चालक व्यवस्थापन गर्न बसधनीलाई भनियो । नयाँ चालक नआएसम्म यात्रुले पाउनुसम्म दुःख पाए । चालकलाई एक रात राखियो । भोलिपल्ट जिल्ला प्रहरी कार्यालय तनहुँले एक हजार रूपैयाँ जरिवाना लिएर मापसे गरी गाडी हाँकेको कसुरमा उन्मुक्ति दियो ।
लामोदूरीको सार्वजनिक बसका चालकले मापसे गरी बस चलाउँदा उनलाई सामान्य जरिवाना तिराएर छुटाउँदा जानकारहरूले असामान्य रूपमा लिएका छन् । दर्जनौँ यात्रुको ज्यानसँग खेलाँची गरेर ट्राफिक नियम उल्लंघन गर्ने चालकमाथि कडा कारबाही गर्न तनहुँ प्रहरी किन चुक्यो ? कसको दबाबमा परेर सामान्य जरिवाना तिराई उन्मुक्ति दियो भन्ने विषयमा सार्वजनिक यातायातका चालकहरूले नै प्रतिप्रश्न गर्न थालेका छन् । यसबारे राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय गण्डकी, पोखराका सूचना अधिकारी दीपक थापासँग बुझ्दा यस्तोमा अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाउने र त्यसको लागि नजिकको प्रहरी कार्यालयलाई बुझाउने गरिएको जानकारी पाइयो । कास्की जिल्ला प्रहरी कार्यालयले स्कूल बस चलाउने मापसे चालकलाई थुनामा राखेरै अभद्र व्यवहार मुद्दा चलाउँदै आएको पाइए पनि सिमाना जोडिएको जिल्लाले दर्जनाैँ यात्रु लिएर चल्ने लामो दूरीका चालकलाई यत्तिकै छाड्दा जनता अचम्भित छन् ।
किन यसो गरेको भन्ने हाम्रो जिज्ञासामा तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाले जाहेरी नपरेकाले मुद्दामा लैजान समस्या परेको बताए । प्रहरी प्रतिवेदनले अन्यत्र जिल्लामा मुद्दा चल्छ, तनहुँमा चल्दैन र भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘सरकारी वकिलले मुद्दा लिनै मान्दैनन् ।’
लामोदूरीमा दुई जना चालक हुनैपर्ने प्रावधान पनि हराइसकेको छ । पोखराबाट नेपालगञ्ज जाने उक्त रात्रिबसमा दुई जना चालक नहुँदा बस व्यवस्थापकलाई अर्को चालक पोखराबाट जोगाड गरी झिकाउँदा झण्डै २ घण्टा ढिलाइ भएको थियो । प्रहरी चेकपोस्टमा बुझाइने टिप्सले दुई जना चालक हुनुपर्ने प्रावधान गुमनाम छ । जब चालक निदाएर दुर्घटना हुन्छ तब हुन्छ हस्याङफस्स्याङ । केही दिनपछि फेरि सुनसान । नेपाल प्रहरीको केन्द्रदेखि नै देखिएको अस्तव्यस्तताको नमुना हेर्न टाढा जानै पर्दैन, पाइला–पाइलामै भेटिन्छन् । जुन जोगी आए पनि कानै चिरेको भनेजस्तै छ नेपाल प्रहरीमा ।
टिप्पणीहरू