रंगशाला छोडेर कलाकारितामा फर्किएका धुर्मुस बने ‘हत्यारा मन्त्री’

रंगशाला छोडेर कलाकारितामा फर्किएका धुर्मुस बने ‘हत्यारा मन्त्री’
सुन्नुहोस्

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लफडाले झण्डै करिअर समाप्त गरेका कलाकार हुन्,सीताराम कट्टेल उर्फ धुर्मुस । रंगशालाको प्रोजेक्टबाट हात झिकेका उनी पछिल्लो समय कलाकारितालाई लयमा ल्याउने प्रयास गरिरहेका छन् । 

यसैबीच उनी अभिनित चलचित्र ‘लाज शरणम्’काे नयाँ पोस्टर सार्वजनिक भएको छ । जहाँ उनको अवतारले लामो समयपछि दर्शकहरुलाई नयाँ स्वाद दिएको देखिन्छ । 

पोस्टरमा उनी जेलमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको भूमिकामा देखिएका छन् । स्मरण रहोस्, ०६४ चैत्र ७ गते रौतहटमा भएको एक बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इट्टाभट्टाको चिम्नीमा हालेर हत्या गरेकाे आरोपमा जिल्ला अदालतले गत बैशाखमा पूर्वमन्त्री आलम र उनका भाईसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको थियो । 

यसरी एउटा हत्यारा प्रमाणित भएका नेताको भूमिकामा धुर्मुसको कमब्याकले धेरै दर्शकमा चलचित्रबारे कौतुहुलता र उत्सुकता पैदा गरेको देखिन्छ । यतिबेला सामाजिक सञ्जालमा दर्शकहरुले धुर्मुसको पोस्टर शेयर गर्दै विभिन्न प्रतिक्रिया दिइरहेका छन् । 

आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई धुर्मुसकै भाइ कुमार कट्टेल उर्फ जिग्रीले निर्देशन गरेका हुन् । टेलिसिरियल ‘सक्किगो नि’ बाट चर्चामा आएका जिग्री यतिबेला चलचित्रको प्रचार प्रसारमा व्यस्त छन् ।

दाजुभाइको यो पहिलो ठूलो सहकार्यसमेत हो । चलचित्रमा ‘पूर्णबहादुर सारंगी’ फेम्ड विजय बराल, अर्पण थापा, रेणु योगी, महेश त्रिपाठीलगायतको पनि अभिनय छ ।

टिप्पणीहरू