धादिङ्ग महोत्सवमा शनिबार : किन भयो यस्तो कमजोरी ?

धादिङ्ग महोत्सवमा शनिबार : किन भयो यस्तो कमजोरी ?

झ्यारझ्यारे साउण्ड सिस्टम, लय बिर्सने कलाकार, चिप्लिने प्रस्तोता

माघ १० गतेदेखि धादिङबेसीमा ‘लोक सांस्कृतिक महोत्सव २०८१’ जारी छ । दर्शकको साथ पनि पाइरहेकै छ । महोत्सवभित्रको व्यापार पनि चित्तबुझ्दो नै छ । महोत्सवमै चलिरहेको लोक दोहोरी प्रतियोगितालाई भने साउण्ड सिस्टमको गतिलो साथ छैन । 

कहिलेकाहीं  मानवीय त्रुटी हुनु स्वभाविक हो,हुन्छ र त्यस्ता कमजोरीलाई दर्शकले सहजै स्वीकार गर्छन् पनि । तर, प्रतियोगिताको घम्साघम्सी सुन्न र हेर्न टिकट काटेर महोत्सव प्रवेश गरी मन्च अगाडि थुप्रिएका दर्शकले साउण्ड सिस्टमकै कारण प्रतियोगी कलाकारले गाएको शब्द बुझिएन, बाजाहरुको तालमेल प्रष्ट भएन भनेर कमेन्ट गर्नुलाई भने सामान्य मान्न सकिँदैन । साउण्ड सिस्टमकै कारण प्रतियोगिताको मज्जा लिन नपाएको भन्दै सामाजिक संजालमा दर्शकहरुले गुनासो पनि गरेका छन् । ‘साउण्ड सिस्टम खत्तम छ, बिजोक छ, साउण्ड सिस्टम नै गतिलो भएन’ भन्दै प्राय दर्शकले कमजोरी औल्याइरहेका छन् । 

साउण्ड सिस्टमको मात्रै होइन, स्टेजमा गाइरहेका कलाकारले पनि शनिबार लय नै बिर्सिए । कलाकार श्याम बुर्लाकोटीले एउटा गीत गाइसकेर अर्काे गीतको सुरुवाती शब्द र लय नै बिर्सिए । संगसंगै गाइरहेका दर्शकले सम्झाएपछि ‘हो त्यै हो’ भन्दै सुधार्न कोषिस गरे तर सकेनन् । दोश्रो अन्तरा फेरी पनि बिगारे । गीत उठाउनै सकेनन् । शनिबारे भीडभाडमा सयौं दर्शकको अगाडि लाज मानीमानी माफी मागे । मैले यो गाउन सकिन भन्दै ट्रयाक बन्द गर्न लगाए र अर्काे गीत गाउन थाले । तर, जेनोतेनो हात हल्लाइरहेका दर्शकले प्रतिक्रिया दिन सकेनन् । 

यस्तै यस्तै त्रुटि र कमजोरीले नै होला जिल्लामा अनुभवी प्रस्तोताको रुपमा परिचित प्रस्तोता कृष्ण शिशिर पनि बोल्दाबोल्दै चिप्लिए । न प्रायोजक, न उपचारमा सहयोगी, कहिकतै व्यानरमा समेत नाम नदेखिएको अस्पतालको नाम फ्याट्ट फुत्काए । भुल सुधार गर्दै फेरी अर्काै अस्पतालको नाम पनि भन्न भ्याए । तर, त्यसलाई बौद्धिक स्तरका दर्शकले हुनै नहुने कमजोरी भएको भन्दै गिज्याइरहेका थिए । 
 

गीतको शब्द र लय नै बिगार्ने कलाकार, आवेशमा के बोल्दैछु नै पत्तो नपाउने उद्घोषक अनि सेकेण्ड सेकेण्ड मै उथलपुथल भइरहने साउण्ड सिस्टमले महोत्सवको गरिमा घटाउला की बढाउला ? आयोजकले बुझनै पर्छ ।
 

टिप्पणीहरू