कर्णाली सरकारसँग कांग्रेस क्रुद्ध

कर्णाली सरकारसँग कांग्रेस क्रुद्ध

वाइडबडी जहाज खरिद प्रकरणमा अदालतबाट सफाइ पाएपछि कर्णालीका दश जिल्लाका कार्यकर्ता भेटघाट, स्वागत तथा भ्रमणमा निस्किएका सत्तारुढ कांग्रेस नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले यहीँबाट सरकार फेरबदल हुन सक्ने संकेत गरेका छन् । सोमबारदेखि शुरु भएको प्रदेश सभाको बैठकमा संददीय दलको नेतासमेत रहेका शाहीले सरकार छाड्ने चेतावनी दिएका हुन् । 

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले गत असारमा तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकारसँग भएका आठ बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे पाँच दिनभित्र जवाफ माग गरे र भने, ‘जानकारी नगराइए सरकारमा रहिरहनुको अर्थ छैन ।’ यसै साताभित्र सहमति कार्यान्वयनको अवस्थाबारे जानकारी नदिएमा र कार्यान्वयन नभएको पाइएमा पवित्र गठबन्धन गर्नेहरूसँग सरकारमा नबस्ने र बाहिरै रहने शाहीले उल्लेख गरे । 

असार १७ गते व्यक्ति र निजी फर्महरूको नामसहित आएको बजेट कार्यान्वयन नगर्ने, क्रमागत र बहुवर्षीय आयोजनाहरूको प्राथमिकता निर्धारण गरेर निर्माण कार्यलाई अघि बढाउने, कृषि, सशर्त, क्रमागत र मर्मततर्फबाहेक अन्य निर्माणको हकमा १५ लाख र भवन तथा सडक निर्माणतर्फ ३० लाखभन्दा मुनिका योजना कार्यान्वयन नगर्ने, समपूरक, विशेष र ससर्त अनुदानतर्फ विधि प्रक्रिया पूरा गरी आएका तर छुट भएका पालिकालाई बजेटमा समावेश गर्ने सम्झौता भएको थियो । यी सम्झौता आफ्नै पार्टी सहभागी सरकारले कार्यान्वयन नगरेको शाहीको भनाइ छ । 

उनले सरकार छोड्दा कारबाही भोग्न परे पनि आफू तयार रहेको बताउँदै अन्याय सहेर बस्न नसक्ने उल्लेख गरेका छन् । शाहीले कांग्रेस र माओवादी केन्द्रबिच सरकार बन्दा अपवित्र गठबन्धन भन्ने यमलाल कँडेल कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेको बताउँदै अहिलेको गठबन्धनलाई के भन्ने भनेरसमेत प्रश्न गरेका छन् । 

प्रदेश सभामा शाहीले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढाका विषयमा गम्भिर भएर सोच्नुपर्ने बताए । कार्यकर्ता भेटघाटको क्रममा जिल्ला जिल्ला पुगेको बेला बूढाका विषयमा धेरै गुनासो आएको र आफूले फोन गर्दा रिसिभ नगरेको, बेवास्ता गरेको उनको भनाइ छ । 

उनले यो पनि प्रश्न गरे, ‘मन्त्री माथिबाटै तोकिने, समितिको सभापति पनि माथिबाटै तोकिने, अनि हामीले संघीयताको वकालत गर्नुपर्ने ?’ 

 

टिप्पणीहरू