अधिवेशन नै नगरी सबै अध्यक्ष
युनेस्को संघसंस्था तथा क्लबहरूको राष्ट्रिय महासंघमा लामो समयदेखि महाधिवेशन हुन नसकेपछि मुलुकभरका युनेस्कोकर्मी रुष्ट बनेका छन् ।
संयुक्त राष्ट्रसंघको सिद्धान्त र आदर्शलाई जनतामाझ फैलाउन स्थापित संघसंस्था र क्लबहरूको छाता संगठन महासंघको आठ वर्षसम्म महाधिवेशन हुन सकेको छैन । जबकि, हरेक दुई वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधान छ । वि.सं. २०७४ जेठको काठमाडौं महाधिवेशनबाट आनन्दराज त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको थियो । त्रिपाठी हाल तनहुँको भानु नगरपालिकामा मेयर छन् ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट उम्मेदवार थिए । टिकट पाएलगत्तै महासंघको अध्यक्ष पदबाट राजीनामा दिनुपर्नेमा निर्वाचित भएको एक महिनाभित्रै महाधिवेशन आयोजना गरे । जेठ २८ र २९ गते उनकै पालिकामा महाधिवेशन भयो । उनी नै पुनः अध्यक्ष चयन भए । त्यतिबेला सर्वसम्मत रूपमा पद बाँडफाँड गरिएको थियो । विधान संशोधन गर्ने शर्तसहित पद बाँडिएकोमा सोअनुसार काम हुन नसकेपछि त्रिपाठीले भानु महाधिवेशनको दुई वर्षपश्चात् पुनः २०७४ को कार्यसमितिलाई ब्युँताएर जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा संस्था नवीकरण गरेका छन् । मेयर त्रिपाठीले नगरपालिकाको स्रोत–साधनमा आयोजना गरेको महाधिवेशन व्यर्थ सावित भएको छ भने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको रेकर्डमा युनेस्कोको महाधिवेशन आठ वर्षसम्म हुन नसकेको स्पष्ट उल्लेख छ । संस्था नवीकरण गरे पनि तत्कालीन कार्यसमितिका पदाधिकारीलाई जथाभावी पद दिएपछि उनीहरूले बैठक बहिष्कार गरेका छन् । स्थानीय पालिकाको मेयर भइसकेको व्यक्ति एनजिओको अध्यक्ष रहन नसुहाउने एक युनेस्कोकर्मी बताउँछन् ।
जनआस्थासँग उनले भने, ‘नगरपालिकाको मेयर रहेको व्यक्ति एनजिओको अध्यक्ष रहन सुहाउँछ ? ऐनमा त्यस्तो नियम नहोला । तर, मेयर भएपछि त्यो कुरा सोच्नुपर्छ कि पर्दैन ? एनजिओको काम गर्दा जनताको काममा ह्रास आउँछ । जनताले दुःख पाउँछन् । नैतिकताको आधारमा पनि पद छोड्नुपथ्र्यो ।’ युनेस्को विश्व महासंघ र त्यसअन्तर्गत एशिया प्रशान्त क्षेत्रको बैठकका क्रममा विभिन्न देश जान पाउने भएकाले पदमा टाँसिइरहेको उनको आरोप छ । २०७९ चैतमा कजाकस्तानको अल्माटीमा सम्पन्न एशिया क्षेत्रको महाधिवेशनबाट नेपाल उपाध्यक्ष भएको थियो भने त्रिपाठीले प्रतिनिधिको रूपमा सहभागिता जनाएका थिए । सरकारबाट जनप्रतिनिधिको सेवा–सुविधा लिइरहेका उनले युनेस्कोको कार्यक्रम र बैठकहरूमा भाग लिँदा नगरपालिकाको गाडी चलाउने गरेको आरोप छ ।
यता, पछिल्लो समय महासंघ नाम मात्रको संस्था बन्दै गएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत युनेस्को आयोगले दिएको कार्यक्रम सञ्चालनमै महासंघ सीमित छ । सामान्य बजेटको कार्यक्रम सञ्चालन गर्ने, नियमित बैठक नराख्ने, साधारण सभा र महाधिवेशन नगर्ने, कसैलाई कार्यवाहक दिन नखोज्नेलगायत बेथिति देखिएको छ । त्रिपाठी मेयरको कार्यकाल लम्ब्याएर महाधिवेशन गरी पुनः अध्यक्ष बन्ने दाउमा रहेको धेरै युनेस्कोकर्मीको आशंका छ ।
महासंघका महासचिव युवराज न्यौपानेले त्रिपाठीले मौखिक रूपमा कार्यवाहकको जिम्मेवारी उपाध्यक्ष महेश्वरप्रसाद शर्मालाई सुम्पिएको बताए । हाल महासंघमा दुई जना उपाध्यक्ष छन्, महेश्वर र अनिल सिल्वाल । महेश्वर सिनियर भएकाले उनलाई कार्यवाहक दिइएको न्यौपानेको भनाइ छ । ‘उहाँले मौखिक रूपमा कार्यवाहक दिइसक्नुभयो तर लिखित रूपमा दिनुपर्छ । महासंघले उहाँसँग लिखित निवेदन माग गरेको छ । उहाँले भोलि दिनुहुन्छ होला’, उनले भने । त्यसैगरी, उनले महासंघको महाधिवेशन गर्ने तयारी भइरहेको बताए ।
सिडियो कार्यालयले छिटो महाधिवेशन गर्न निर्देशन दिएकाले मिति तोक्ने सुरसार गरिएको उनले जानकारी दिए । यता, मेयर त्रिपाठी भने महासचिवलाई सोध्नु भन्दै पन्छिए । आफूले कार्यवाहकको जिम्मेवारी अर्कोलाई दिइसकेको उल्लेख गर्दै भने, ‘मैले मौखिक रूपमा कार्यवाहकको जिम्मेवारी दिएको छु । लिखितमा दिएको छैन । अहिले यतातर्फ लागेको छु । त्यसैले त्यताको विषयमा मलाई जानकारी छैन । महासचिवज्यूलाई सोध्नुहोला ।’
टिप्पणीहरू