अखिल (क्रान्तिकारी) मा अर्को लफडा
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मा नयाँ नेतृत्वको लागि भएको निर्वाचनअन्तर्गत उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना अनिश्चितकालको लागि स्थगित भएको छ । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशका निर्वाचन अधिकृतले आज दिउँसो संयुक्त विज्ञप्ति जारी गर्दै मतगणना अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएका हुन् ।
स्थगितको ठोस कारण नखुलाइएको विज्ञप्तिमा भनिएको छ, ‘...मतगणना विशेष कारणवश स्थगित भई आज ११ बजेदेखि सुरु गर्ने भनिएकोमा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सूचित गरिन्छ।’
अखिल क्रान्तिकारीमा ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्यको लागि हिजो (शनिबार) निर्वाचन भएको थियो । हालसम्मको मतपरिणामअनुसार अध्यक्षमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच रोचक प्रतिस्पर्धा देखिएको छ । सापकोटाले ४८१ मत पाउँदा राईले ४६१ मत ल्याएका छन् । सापकोटालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेतले अघोषित सहयोग गरेको बताइन्छ भने राई उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् ।
अध्यक्षकै अर्का उम्मेदवार उपदेश यादव २२१ मतसहित तेस्रो स्थान र सुदिन पौडेल १४४ मतसहित चौथो स्थानमा छन् । यता मधेश प्रदेशमा मतगणना सम्पन्न भइसके पनि धाँधली भएको जनाउँदै पुनः निर्वाचन गर्नुपर्ने कतिपयको विद्यार्थीको माग छ ।
टिप्पणीहरू