एमाले नेताको निर्देशन : इँटको जवाफ ढुङ्गाले दिनू

एमाले नेताको निर्देशन : इँटको जवाफ ढुङ्गाले दिनू

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले विपक्षी दलका कार्यकर्ताहरु आइलागेमा उनीहरुमाथि जाइलाग्न पार्टीका कार्यकर्तालाई उर्दी जारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु पछिल्लो समय उग्र र अराजक बन्दै गएको जनाउँदै उनले आज समाजिक सञ्जालमा ‘इँटको जवाफ पत्थरले दिन’ आग्रह गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई हिजो धनगढी जाने क्रममा रास्वपा कार्यकर्ताले बाटोमा गाडी रोकेर अवरोध गरेका थिए । रावल चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३१८ नम्बरको गाडी रोकेर ‘बिदाको दिनमा किन सरकारी गाडी चढेको ?’ भन्दै उनीहरुले दुव्र्यवहारसमेत गरेको बताइन्छ । रावलका स्वकीय सचिव राजबहादुर चन्दले विज्ञप्ति जारी गर्दै रास्वपा कार्यकर्ताको हर्कतप्रति आपत्तिसमेत जनाइसकेका छन् । सोही प्रसंगमा नेता बस्नेतले ‘जस्तालाई त्यस्तै’ भन्ने रणनीति अपनाउन कार्यकर्तापंक्तिलाई आग्रह गरेका हुन् । बरु परेको आफूले व्यहोर्ने वाचा दिँदै उनले भनेका छन्, ‘रास्वपाका कार्यकर्ताहरु झनै उग्र बन्न थालेका छन् । सरकारले कारबाही गरोस् । अन्यथा ईंटको जवाफ पत्थरले दिनुहोस् । साथीहरू, परेको व्यहोरौंला ।’

नेता बस्नेतको उर्दीप्रति कतिपय कार्यकर्ताले भने असहमति जनाएका छन् । दोलखाको जिल्ला कार्य समितिका एक सदस्यले हिंसाका लागि प्रेरित गर्नु कुनै पनि नेताको लागि अशोभनीय हुने बताएका छन् । उनी लेख्छन्, ‘रास्वपा कार्यकर्ताहरु उग्र बन्दै गएका होलान्, त्यो अर्कै कुरा हो । तर हिंसामा उत्रिन कार्यकर्तालाई निर्देशन दिएको कुनै पनि दृष्टिकोणबाट शोभनीय छैन । कृपया,  यो आदेश सच्याउनुहोला ।’ 

रोचक के भने, शोभा पाठकबाट जबर्जस्ती करणी, भ्रुण हत्या र डाँका चोरीको आरोप खेपिरहेका बस्नेतलाई रास्वपाका सभापति रवि लामिछानेले नै गृहमन्त्री हुँदा उन्मुक्ति दिएको खुलेको छ । रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले ‘लामिछानेको गृहमन्त्रीकालमा जीवनदान दिएको एउटा बलात्कारी आज निकै उफ्रिदै छ रे’ भन्दै घुमाउरो खुलासा गरेकी हुन् । ‘अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको ! याद गर काजी !’, संग्रौलाले भनेकी छन् ।

टिप्पणीहरू