प्रधानमन्त्रीसमक्ष शौचालयको दुर्गन्धबारे गुनासो
सरकारी कार्यालय र विद्यालयहरुमा शौचालय फोहोर भएको व्यापक गुनासोपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कडा निर्देशन दिएको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै विद्यालयका शौचालय सफा राख्न निर्देशन दिइएको जनाएको छ ।
सरकारी कार्यालय र विद्यालयहरुमा शौचालय सरसफाईमा ध्यान नदिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको हेलो सरकारमा गुनासो गरेपछि उक्त निर्देशन भएको हो । प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयलाई गरेको पत्राचारमा सरसफाइको काम तत्काल थाल्न भनिएको छ ।
केन्द्रले विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छतासम्बन्धी कार्यविधि, २०७५ को अनुसूची १ बमोजिम आआफ्नो जिल्लाका विद्यालयहरुमा स्थानीय तहमार्फत् सरसफाईसम्बन्धी मापदण्ड कार्यान्वयन गर्न गराउन आग्रह गरेको छ ।
परिपत्रमा लेखिएको छ, ‘सरकारी कार्यालय र सरकारी विद्यालयहरुमा शौचालय सरसफाईसम्बन्धी पब्लिक गुनासो श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेलो सरकार र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमार्फत आवश्यक कारबाहीको लागि यस केन्द्रमा प्राप्त भएकोले विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छतासम्बन्धी कार्यविधि, २०७५ को अनुसूची १ बमोजिम मापदण्डसम्बन्धी व्यवस्था भएबमोजिम आआफ्नो जिल्लाका विद्यालयहरुमा स्थानीय तहमार्फत मापदण्ड कार्यान्वयन गर्न गराउन सहजीकरण गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’
टिप्पणीहरू