कर्णाली बैंक डुबाउनेहरु विरुद्ध जाहेरी दर्ता

कर्णाली बैंक डुबाउनेहरु विरुद्ध जाहेरी दर्ता
सुन्नुहोस्

सहकारीपछि मुलुकमा सञ्चालित ‘ख’ वर्गका बैंकहरुमा पनि संकट देखिन थालेको छ । आधा दर्जनभन्दा बढी विकास बैंकहरु सहकारीको पथमा रहेको बुझिएको छ । नियमन र निगरानीको अभावका कारण धेरै सहकारी समस्याग्रस्त बनेको छ । सोही अवस्था विकास बैंकहरुमा पनि देखिँदै गएको छ । नेपाल राष्ट्र बैंकले समस्या देखिएको विकास बैंकहरुलाई निगरानीमा राखिरहेको छ ।

स्रोतका अनुसार आधा दर्जन विकास बैंकमा गम्भीर समस्या देखिएको छ । यता, गत पुसमा समस्याग्रस्त घोषणा गरिएको कर्णाली विकास बैंकका पदाधिकारीविरुद्ध राष्ट्र बैंकले जाहेरी दिएको छ । सुर्खेतको नेपालगञ्ज केन्द्रीय कार्यालय रहेको बैंकको करोडौं रुपैयाँ अपचलन गरिएको भन्दै केही दिनअगाडि जाहेरी दिइएको हो । 

झण्डै दुई दशकअगाडि खुलेको सो बैंकको दाङ, बर्दियासहित १९ ठाउँमा शाखा कार्यालय छ । सो बैंकले निक्षेप फिर्ता गर्न नसकेको जानकारी पाएपछि राष्ट्र बैंकले कमिटी गठन गर्यो । सात महिना अगाडिदेखि बैंकलाई निगरानीमा राखिएको थियो । गत पुस ५ गते राष्ट्र बैंकले विशेष छानबिन समिति गठन गरेर बैंकको अनुगमन गरेको थियो ।

समितिले बैंकले निक्षेप फिर्ता गर्न नसक्नुको कारणबारे अध्ययन गर्दा रकम अपचलन गरिएको पत्ता लगायो । प्रारम्भिक अनुसन्धानको क्रममा १२६ करोड रुपैयाँ अपचलन भएको देखियो । बैंकको खातामा करोडौं रुपैयाँ मौज्दात रकम देखिएपनि खातामा भने शून्य भेटिएको थियो । राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले १३३ करोड अपचलन भएको ठहर गरेको छ । 

‘सात महिनाअघि कमिटी बनाएर अनुगमन थालिएको हो । खातामा पैसा देखिन्छ तर वास्तवमा पैसा छैन् । त्यहाँचाँहि १३३ करोड रुपैयाँ अपचलन भएको रहेछ । अलिअलि गर्दै पैसा बाँडिरहेका छौं । अन्य विकास बैंकमा पनि समस्या देखिएको छ । हामी अनुसन्धान गर्दैछौं’,स्रोतले भन्यो । स्रोतका अनुसार उक्त बैंकको हालका सिईयो तथा वित्त विभाग प्रमखु नीरजविक्रम शाह, पूर्व कार्यकारी अध्यक्ष तथा सिईयो राजेन्द्र वीर राय, पूर्व सिईयो दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीले रकम हिनामिना गरेको देखिएको छ । 

यीमध्ये तीन जनाविरुद्ध जाहेरी परेको बुझिएको छ । ‘बैंकिङ कसूर’ को आरोपमा राष्ट्र बैंकले गत साता केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी दर्ता गरेको छ । जाहेरीमा सिईयो, अध्यक्ष र वित्त विभाग प्रमुखले रकम हिनामिना गरेको उल्लेख छ । सीआईबीका प्रवक्ता एसपी सुधिरराज शाहीले बैंकमाथि छानबिन भइरहेको बताए । हाल प्रारम्भिक तहको अनुसन्धान भइरहेको उनको भनाइ छ । जनआस्थासँग उनले भने,‘राष्ट्र बैंकले गत साता जाहेरी दिएको छ । अनुसन्धान शुरुको स्टेजमा छ ।’

यता, राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार बैंकमा भएको निक्षेपकर्ताको निक्षेप फिर्ता भइरहेको छ । बैंक सञ्चालनका लागि राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरिएको उनले जानकारी दिए । समितिमा वित्तिय संस्था सुपरीवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा छन् ।

टिप्पणीहरू