राम्री हिरोइनका कारण तनावमा निर्देशक, यता अदालतमा मुद्दा
कुनै पनि चलचित्रको प्रदर्शनअघि प्रिमियर शो गरिनु स्वाभाविक हो । चलचित्र दर्शकसम्म पुग्नुअघि नै त्यसमा भएको कमीकमजोरी पत्ता लगाउन र सुझाव लिन निर्माण टिमले विभिन्न क्षेत्रका सेलिब्रेटी र पत्रकारलाई बोलाएर चलचित्र देखाउने गर्छन् । यसर्थ प्रिमियरमा चलचित्रको कथा, पटकथा, अभिनय, छायाँकन, संगीत लगायतमाथि प्रतिक्रिया हुनुपर्ने हो । तर ‘एक्टरः टेक वान’को प्रिमियरमा भने अभिनेत्रीहरुको ड्रेसअपले चलचित्रको विषयवस्तु नै ओझेलमा पारेको छ ।
भक्तपुरको क्युएफएक्स सिनेमाजमा हिजो चलचित्रको ग्राण्ड प्रिमियर आयोजना गरिएको थियो । कार्यक्रममा चलचित्र क्षेत्रका थुपै कलाकार, व्यवसायी र पत्रकारहरुको उपस्थिति थियो । चलचित्र हेरिसकेपछि दर्शकले त्यसको कथा र अभिनयबारे प्रतिक्रिया दिन्छन् कि भन्ने धेरैको अनुमान थियो, तर गलत सावित भयो । अधिकांश दर्शक अभिनेत्रीद्वय आना शर्मा र दिव्या रायमाझीको ड्रेसअप र सुन्दरतामा भुलेको पाइयो ।
अफ–ह्वाइटमा सजिएकी आना र ब्ल्याकमा श्रृंगारिएकी दिव्याको सौन्दर्यको धेरैले प्रत्यक्ष रुपमै प्रशंसा गरे । कार्यक्रममा दुई अभिनेत्री आकर्षणको पात्र बनिरहँदा चलचित्रका मुख्य अभिनेता प्रदिप खड्का भने छायाँमा परेको पाइयो । एक दशकपछि चलचित्रमा कम–ब्याक गरेका र प्रिमियरकै लागि भनेर अस्ति अमेरिकाबाट नेपाल आएका अभिनेता राजबल्लभ कोइरालाले पनि खासै ध्यान खिच्न सकेनन् ।
कार्यक्रम परिसरमा आना र दिव्याको सुन्दरता मात्रै चर्चाको विषय बन्यो, तर चलचित्रमा उनीहरुको अभिनयबारे कमैले मात्र बोले । उता निर्देशक राजन भुसाल भने दुविधामा देखिन्थे । दर्शकले आफ्ना अभिनेत्रीको सुन्दरताको प्रशंसा गर्दा खुशी बनेका उनी चलचित्रको विषयवस्तु छायाँमा परेको चिन्ताले निराश देखिए ।
भोलिदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतको पनि अभिनय छ ।
चलचित्र ‘एक्टरः टेक वान’विरुद्ध चलचित्र ‘एक्टर’ टिमले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ । ‘एक्टर’ टिमले उस्तै नाम राखेको र दर्शकमा भ्रम सिर्जना गरी आफ्नो चलचित्रको व्यापारमा नोक्सानी गरेको भन्दै केही दिनअघि ‘एक्टरः टेक वान’ निर्माण टिमविरुद्ध रिट दायर गरेको थियो ।
टिप्पणीहरू