बरु जाँड खानु, ड्यु–कोकचाहिँ खाँदै नखानु

बरु जाँड खानु, ड्यु–कोकचाहिँ खाँदै नखानु

मकवानपुरको पश्चिम क्षेत्रमा रहेका चेपाङ बस्तीमा कोल्ड ड्रिंक्सको अधिक प्रयोगले ल्याएको असरबारे जनप्रतिनिधिले मुख खोल्न थालेका छन् ।

गाउँका स–साना पसलमा कोकाकोला, ड्यु, मिरिन्डा, पेप्सी, स्प्राइटलगायत कोल्ड ड्रिंक्स अत्यधिक बिक्री हुने र त्यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेकोप्रति आफूहरू सचेत रहेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘हामीले पनि शुरुमा निर्वाचित भएर आउँदा पाहुना सत्कार वा बैठकमा कोल्ड ड्रिंक्स प्रयोग गथ्र्याैं’, उनले भने, ‘अहिले त्यो काम पूरै रोकिएको छ, कागती पानी वा कालो चियामा जोड दिएका छौं ।’ अध्यक्ष मल्लका अनुसार गाउँमा अधिक कोल्ड ड्रिंक्स (खासगरी माउन्टेन ड्यु) ले निकै असर पारिरहेको छ । गुलियोको मात्रा बढी हुने उक्त पेय पदार्थको सेवनले सुगरको मात्रा वृद्धि हुने र त्यसले थुप्रै साइड इफेक्ट गरिरहेको मल्लले बताए । 

‘हरेक महिना ८/१० जना बिरामीलाई आर्थिक सहयोगका लागि पत्र बनाइदिनुपर्ने र निर्णय गरेर रकम दिनुपर्ने अवस्था आइरहेको छ’, अध्यक्ष मल्लका अनुसार यस वर्ष गाउँसभाबाटै निर्णय गरी कोल्ड ड्रिंक्स निषेध अभियानलाई अघि सारिएको छ । यसका लागि नगरप्रहरी परिचालन समेत गरिनेछ । हरेक गाउँमा पुगेका साना सवारी साधनले कोल्ड डिंक्स ओसार्ने गरेको र एकैजनाले एक जम्बो (२.५ लिटर) बोत्तलसम्म खाइदिने गरेको पाइएको छ । 

निरन्तर गुलियो र अन्य केमिकल हालेका त्यस्ता चिसो पदार्थले मानिसमा सुषुप्त रहेका संक्रमण देखा पर्ने, टाइफाइड, जण्डिस, सुगर र प्रेसरका रोगीलाई असर पार्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । ‘कैयौँको किड्नीसमेत बिग्रिसकेको पाएका छौं, यसका लागि हामीले कोल्ड ड्रिंक्सको अधिक सेवनलाई नै कारक मानेका छौँ ।’, गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले बताए । खासगरी पछिल्लो समय चेपाङ समुदायमा क्रिश्चियन धर्मको विकास र विस्तार भइरहेको छ ।

उक्त धर्ममा लाग्नका लागि अनिवार्य रूपमा रक्सी छाड्नुपर्ने भनिएको छ । रक्सी छाडेर त्यसको विकल्पमा कोल्ड ड्रिंक्सलाई अघि सारिँदा यस्तो विकराल समस्या आइरहेको उपाध्यक्ष थिङको भनाइ छ । ‘आफ्नै गाउँघरमा बनाएको कोदोको जाँड, रक्सी खाँदा बरु स्वास्थ्यलाई फाइदा नै हुन्छ तर ड्यु–कोकले मान्छेको स्वास्थ्य भसक्कै पारेको छ’, उपाध्यक्ष थिङले भने ।

गाउँपालिकाले स्थानीय खाना उत्पादन र उपभोगका लागि आफ्ना बासिन्दालाई विद्यालयमार्फत जागृत गर्ने भनिएको छ । तर, अझै प्रभावकारी रूपमा जंक फुड र कोल्ड ड्रिंक्स निषेध अभियानलाई लैजान सकिएको छैन । राक्सिराङजस्तै कैलाश र मनहरी गाउँपालिकाका थुप्रै चेपाङ, तामाङ र दलित समुदायले कोल्ड ड्रिंक्स प्रयोग गरिरहेका छन् । तामाङ समुदायको शुभकार्यमा समेत अहिले यसको अधिक प्रयोग भइरहेको पाइएको छ । 

 

टिप्पणीहरू