क्रान्तिकारीमा मसीको किचलो कायमै
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मत गणनासम्बन्धी विवाद तत्काल साम्य नहुने देखिएको छ ।
निर्वाचन समितिले मतदानका लागि रातो मसी भएको कलम प्रयोग गर्ने व्यवस्था गरे पनि मतपत्रमा कालो मसी प्रयोग भएको भेटिएपछि विवाद शुरु भएको थियो । कस्तो मतलाई मान्यता दिने भन्नेमा अध्यक्षका उम्मेदवारहरुबीच सहमति नहुँदा आइतबारदेखि रोकिएको गणना अझै शुरु भएको छैन ।
यसैबीच अध्यक्षका तीन जना उम्मेदवारले निर्वाचन समितिले व्यवस्था गरेको ‘रातो मसी कलम’ द्वारा रेजा लगाइएको मत मात्र गणना गरिनुपर्ने माग राखेका छन् । आज दिउँसो एक विज्ञप्ति जारी गर्दै उम्मेदवारहरु हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले पुरानै अडान दोहोर्याएका हुन् ।
उनीहरुले मतदान भएको वाल्मीकि क्याम्पसमा नै मतगणना गर्नुपर्न माग पनि राखेका छन् । यसअघि त्यहाँको मत पार्टी मुख्यालय पेरिसडाँडामा गन्ने सहमति भएको थियो ।
तीन उम्मेदवारले कालो कलमले रेजा लगाएको मत फर्जी हुनसक्ने आशंका गरिरहँदा अध्यक्षका अर्का उम्मेदवार विजय सापकोटा भने 'कालो मसी' लाई पनि सदर गर्नुपर्ने पक्षमा छन् ।
क्रान्तिकारीको नेतृत्व छान्न शनिवार ८ वटा मतदान केन्द्रमा मतदान भएको थियो । तीमध्ये ७ वटा मतदान केन्द्रको गणना सम्पन्न भैसकेको छ । जसअनुसार सापकोटाले ४५३ मतसहित अग्रता बनाउँदा ४३० मत पाएका राईले पछ्याइरहेका छन् ।
विवाद भएको उपत्यका विशेषमा २६४ र विश्लविद्यालय प्रदेशमा २५८ मत खसेको छ ।
टिप्पणीहरू