सर्वसाधारणलाई ‘फटाहा’ भनेका मेयरविरुद्ध स्थानीय

सर्वसाधारणलाई ‘फटाहा’ भनेका मेयरविरुद्ध स्थानीय
सुन्नुहोस्

सार्वजनिक सुनुवाईको कार्यक्रममा सर्वसाधारणलाई थर्काएका संखुवासभाको खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया विवादमा तानिएका छन् । उनले ‘गुण्डा शैली’ देखाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । गत माघ १४ गते नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम थियो । 

स्थानीयले सोधेको प्रश्नको जवाफ दिन मञ्चमा उभिएका थपलियालाई एक पुरुषले प्रश्न गरेपछि मेयर थपलियाले आक्रोशित हुँदै भनेका थिए, ‘तिम्रो अधिकार लाग्छ भने यहाँ बोल न त । यो फटाहा ।’ 

ती व्यक्तिले आचारसंहितामा रहेर कुरा गर्न भनेपछि मेयरले थपे, ‘साथीहरुलाई म के भन्न चाहन्छु भने धेरै उत्तेजित भएर कुरा गर्न जरुरी छैन । हामीले चार सय केभी प्रसारण लाइनमा पनि लोअर अरुणको जग्गाको मुआब्जाको सारा पब्लिकहरुसँग बसेर छलफल गरेका छौं । बाह्रबिसे खाँदबारीभन्दा टाढा छैन । बाह्रबिसेको बजारको जग्गा, बडेरिनको चाँही मँहगो हुने, बाह्रबिसेको सस्तो हुनुपर्ने ? हटियाभित्रको सदरमुकामको जग्गा सस्तो हुनुपर्ने अनि खाँदबारी नगरपालिकाको तल बेसीको बगरको जग्गाचाँही महँगो भइदिनुपर्ने ? ठाउँअनुसार हुन्छ ।’

प्रश्नकर्ताले मेयर थपलियाले स्थानीयको समस्या समाधानमा चासो नदेखाएको गुनासो पनि गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यसपछि एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘यो जनप्रतिनिधि हो कि गुण्डा हो ?’ त्यस्तै, अर्को भन्छन्, ‘हेर जनप्रतिनिधिको गति छि ।’

ती व्यक्ति आफ्नो नगरपालिकाको नभएको मेयर थपलियाको दाबी छ । मदिरा सेवन गरेर आएका उनले अपशब्द प्रयोग गरेपछि आफूले ‘कन्ट्रोल’ गर्न नसकेको उनले बताए । ‘उहाँ अर्को गाउँपालिकाको हुनुहुँदो रहेछ । सार्वजनिक सुनुवाईको कार्यक्रममा आएर उहाँले ममाथि अपशब्दको प्रयोग गर्नुभयो । त्यसपछि मैले फटाहा भनेको हुँ । उहाँले सार्वजनिक कार्यक्रममा त्यो किसिमको अपशब्दको प्रयोग नगर्नुभएको भए मेरो त्यस्तो रि–एक्सन आउँदैन्थ्यो होला’,उनले भने ।

टिप्पणीहरू