शिक्षक आन्दोलन : राजधानीमा बृहत् प्रदर्शन

शिक्षक आन्दोलन : राजधानीमा बृहत् प्रदर्शन फाइल फाेटाे

शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आन्दोलन घोषणा गरेको छ । आफूहरुको माग सम्बोधन हुने गरी संसदको हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको छ ।

महासंघद्वारा आज जारी विज्ञप्तिमा आन्दोलनका कार्यक्रमअन्तर्गत आगामी आइतबारदेखि सबै शिक्षक कर्मचारीले आफ्नो फेसबुक वालमा आयातकार रातो स्टिकर प्रयोग गरेर ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेख्नेछन् । 

त्यस्तै, माघ २५ गते देशभरका स्थानीय तहमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने, स्थानीय आन्दोलन परिचलान समिति गठन गरिनेछ । माघ २९ गते हरेक विद्यालयमा विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच अन्तरक्रिया आयोजना गर्ने र शिक्षक कर्मचारीका माग, मुद्दा तथा आन्दोलनको आवश्यकताबारे सुसूचित गराइनेछ । 

माघ ३० गते पालिका कार्यालयमा भेला भई ‘हाम्रा माग सम्बोधन हुने गरी संसदको हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारासहित हातमा कालोपट्टी बाँधेर खबरदारी जुलुस प्रदर्शन गर्ने महासंघले जनाएको छ । 

संघर्ष कार्यक्रमअन्तर्गत फागुन २ गते मुलुकभरका जिल्ला शिक्षा, विकास तथा समन्वय ईकाइलाई ध्यानाकर्षण पत्र बुझाएर कालोपट्टीसहित विरोध सभा गरिनेछ । यसपछि फागुन ११ गते जिल्ला आन्दोलन परिचालन समितिले सबै निर्वाचन क्षेत्रबाट निर्वाचित संघीय सांसदलाई सरकार र महासंघबीच भएका विगतका सबै सहमति समावेश गरेर ध्यानाकर्षण पत्र बुझाउने तालिका छ । 

यस्तै, फागुन ७ गते प्रदेशस्तरको आन्दोलन परिचालन समिति गठन गर्ने, ९ गते सातै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने र १७ गते काठमाडौंमा कालोपट्टीसहित बृहत् जुलुस प्रदर्शन तथा खबरदारी सभा गरिनेछ । 

संघर्ष कार्यक्रमअन्तर्गत माघ १८ गतेदेखि फागुन १० गतेसम्म राजनीतिक दलका व्यक्तित्व वा सरोकारवाला निकायसँग भेटघाटको पनि तालिका छ । महासंघले पहिलो चरणको आन्दोलनबाट आफ्ना माग पूरा नभएमा दोस्रो चरणको आन्दोलन फागुन १९ गते घोषणा गर्ने पनि जानकारी गराएको छ । 

दोस्रो चरणको आन्दोलनमा राजधानी केन्द्रीत सांगठिन शक्ति प्रदर्शन, असहयोग, अवज्ञा (बहिष्कार) तथा अवरोधजन्य कार्यक्रम रहने जनाइएको छ ।

टिप्पणीहरू