धनुषामा विशाल भण्डारा, दाइजोमुक्त विवाहको तयारी

धनुषामा विशाल भण्डारा, दाइजोमुक्त विवाहको तयारी

धनुषाको मिथिला नगरपालिका–२, बेलाचापीमा यही माघको अन्तिम र फागुनमा विशेष कार्यक्रम हुँदैछ । परमेश्वर कबीरजी निर्वाण दिवस एवम् जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको बोध दिवसको उपलक्ष्यमा ‘विशाल भण्डारा’ गर्न लागिएको छ । माघ २४ देखि २६ गतेसम्म निर्वाण दिवस र फागुन ३ देखि ५ गतेसम्म बोध दिवसको आयोजना गरिएको छ । 

महेन्द्रपुलदेखि पश्चिममा रहेको सतलोक आश्रममा  हुने सो दिवसमा सन्त गरिबदासजीको अमरवाणीको अखण्ड पाठसँगै दाइजोमुक्त विवाह, रक्तदान शिविर, निःशुल्क मन्त्रदीक्षा, आध्यात्मिक प्रदर्शनी हुने जनाइएको छ । आश्रमले हरेक वर्ष छ पटक दिवसको आयोजना गर्दै आएको छ । जेठमा कविर प्रकट, भदौमा अवतरण दिवस, कात्तिकमा दिव्य धर्मयज्ञ, माघमा निर्वाण दिवस, फागुनमा सन्तपालजी बोध दिवस र गरिबबोध दिवस मनाउने गरिएको छ । 

चार वर्षअघि जिल्ला प्रशासन कार्यालय, धनुषामा दर्ता भएर सञ्चालनमा आएको आश्रमले हरेक कार्यक्रममा बृहत भण्डाराको आयोजना गर्दै आएको छ । कार्यक्रममा खुल्ला पाठ, हवन, यज्ञ, सत्सङ्ग, प्रवचन पनि गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रमभर निःशुल्क खाने, बस्नेलगायत आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको छ । 

आयोजकका अनुसार कार्यक्रममा उपस्थित सबैलाई निःशुल्क खाना खुवाइनेछ । शुद्ध घिउमा लसुन, प्याजको प्रयोग नगरिकन खाना पकाउने गरिएको जनाइएको छ । खाना पकाउने महाराजका अनुयायी हुन् भने बाहिरका मान्छेलाई खाना पकाउन दिइँदैन । विश्वभर १० करोडभन्दा बढी महाराजका अनुयायी रहेको आश्रमले जनाएको छ । नेपालमा लगभग एक लाख रहेको जानकारी दिइएको छ ।

हजारभन्दा बढी जोडीको दाइजोमुक्त विवाह 

महाराजको मुख्य उद्देश्य समाजमा भएका कुरीतिहरुको अन्त्य गर्नु हो । सद्भक्ति प्रदान गरी विश्वलाई मोक्ष दिलाउन, जीव हिंसाको अन्त्य गर्न, युवाहरुमा नैतिक र आध्यात्मिक चेतना जगाउन, समाजबाट भ्रष्टाचार, छुवाछुत, भेदभावको अन्त्य गर्न, सबै प्रकारका नशा एवम् कुलतबाट मुक्त गराउन, अन्धविश्वास, पाखण्डवाद आदि विकृतिको जरैबाट अन्त्य गर्न, व्याप्त दाइजो प्रथा रोक्न महाराजले आफ्नो आश्रममार्फत पहल गरिरहेका छन् । 

दाइजो प्रथा रोक्न आश्रमले ‘दहेजमुक्त विवाह’ अर्थात दाइजोमुक्त विवाह अभियान सञ्चालन गरेको छ । वर्षेनी सयौं जोडीको दाइजोमुक्त विवाह गराउँदै आएको आश्रमले यसपटक पनि धेरैको दाइजोबेगर लगनगाँठो कस्ने लक्ष्य लिएको छ । आश्रमका अनुसार नेपालमा मात्र एक हजारभन्दा बढी जोडीको दाइजोमुक्त विवाह गराइसकिएको छ । 

सामूहिक रुपमा हुने विवाहको सम्पूर्ण व्यवस्थापन आश्रमले नै मिलाउँदै आएको छ । जोडीको एक रुपैयाँ पनि खर्च नहुने आश्रमको जिकिर छ । उनीहरु जुन पहिरनमा हुन्छन्, त्यसैमा विवाह गराइन्छ । विदेशीहरु समेत यस विवाहमा सहभागी भएका छन् । आश्रमका अनुसार उनीहरुले सो विवाहको प्रशंसा र प्रोत्साहन गरेका थिए ।

१७ मीनेटमा हुने ब्रम्ह विवाहमा ३३ कोटी मन्त्र जपिन्छ । विवाहका लागि ‘रमाइनी’ एप सञ्चालनमा ल्याइएको छ । विवाहका निम्ति योग्य पुरुष र महिलाले सो एपमा आफ्नो नाम दर्ता गराउनुपर्छ । त्यसपछि आश्रमका प्रतिनिधिले दुवै पक्षलाई भेटघाट गराउँछ । उनीहरुको परिवारसँग कुराकानी गरिन्छ र सामूहिक विवाह गराइन्छ ।

विवाहमा सबैभन्दा बढी तराईबासी सहभागी हुने गरेको आश्रमका एक प्रतिनिधिले बताए । ‘तराईमा दाइजो प्रथा धेरैलाई बोझ बनिरहेको छ । दाइजोको नाममा लाखौं रुपैयाँ ऋण लिनुपर्ने बाध्यता छ । तराईंमा यो विवाहले धेरै अभिभावकलाई राहत दिएको छ । हाम्रो यो अभियानले तराईबासी धेरै खुशी हुनुहुन्छ’,उनले भने । 

रक्तदानमा उल्लेख्य योगदान 

समाजसेवामा अग्रसर आश्रमले रक्तदान शिविरमार्फत् समाजलाई सहयोग गर्दै आएको छ । हरेक दिवसमा रक्तदान शिविरको आयोजना गरिँदै आइएको छ । दिवसमा सहभागी हुने अधिकांशले रक्तदान गर्ने आश्रमले जनाएको छ । आश्रमका अनुसार एक पटकमा ८० देखि ९० युनिट रक्तदान गर्ने गरिएको छ । रक्तदानमा उल्लेख्य योगदान पुर्याएकाले नेपाल रेडक्रस सोसाइटीले आश्रमलाई प्रमाणपत्रसहित सम्मान गरेको छ । 

जनचेतनामूलक कार्यक्रममा आश्रम

भारतको हरियाणामा जन्मिएका जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको शरणमा आएर धेरै युवाहरुले  लागूऔषध सेवान गर्ने छाडेका छन् । लागूऔषधबिना एकछिन पनि बस्न नसक्ने युवाहरुलाई  उनले  कुलत छोडेर नैतिक समाजको निर्माण गर्न सक्ने बनाएका छन् ।  उनका अनुयायीहरुले लागूऔषध दुव्र्यसनीविरुद्ध विद्यालयहरुमा गएर जनचेतनामूलक कार्यक्रम समेत गर्ने गरेका छन् । त्यसैगरी, वृक्षरोपण र विपद्मा पनि आश्रमले सहयोग गर्दै आएको छ । आश्रमले बेलाबखत दाइजोविरुद्ध विद्यालयस्तरीय कार्यक्रमको आयोजना पनि गर्दछ । 

पछिल्लो समय  धनुषाको प्रभावले काठमाडौंमा समेत  अर्को सतलोक आश्रम खोल्न  माग गरेको बताइन्छ । 

टिप्पणीहरू