दुर्गेशको कन्सर्टमा एक दर्जन दर्शक

दुर्गेशको कन्सर्टमा एक दर्जन दर्शक
सुन्नुहोस्

एक महिनायता बजारमा दुर्गेश थापाको एउटा गीत निकै चर्चामा छ- हट भएर, पट भएर...। विभिन्न मेला-महोत्सवमा समेत यही गीतमा आक्रमक प्रस्तुति दिइरहेका छन् दुर्गेशले । हजारौँ दर्शकको भीडमा हेलिकोप्टरबाट इन्ट्री गर्ने उनको डिमान्ड पनि राम्रै देखिन्छ । तर, दाङको तुलसीपुरमा भने उनी सहभागी कार्यक्रमको विजोग भएको छ । 

तुलसीपुर चेम्बर्स अफ कमर्सले आयोजना गरेको दोश्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापारिक महोत्सवमा हिजो (शनिबार) दुर्गेशले गीत गाउने तयारी थियो । तर, दर्शकको अपेक्षित उपस्थिति नभएपछि कार्यक्रम स्थगित गर्दै आजको लागि तय गरियो । आज पनि अवस्था उस्तै देखियो  । धौ-धौले १५ जना दर्शक उपस्थित भएको एक स्थानीयले जानकारी दिए । 

अन्य मेला-महोत्सवमा दुर्गेशको गीतमा रमाउन हजारौँको भीड लागिरहँदा तुलसीपुरमा चाहिँ किन दर्शकको अभाव भएको होला ? कारण तीन वर्ष पुरानो घटनासँग जोडिएको कतिपयको अनुमान छ । 

दाङ घर भएका अभिनेता पल शाहविरुद्ध जर्बजस्ती करणीको मुद्धा दायर गर्न गायिका समीक्षा अधिकारीलाई दुर्गेशले नै उक्साएको त्यसबेला चर्चा थियो । जसकारण दंगेलीहरुले समीक्षा र दुर्गेशलाई बहिष्कार गर्दै आएको देखिन्छ । गत वर्ष चैतमा सांगीतिक प्रस्तुतीको लागि दाङ पुगेकी समीक्षा पनि दर्शक नआएपछि माफी मागेर फर्केकी थिइन् । 

अहिले दुर्गेशले महोत्सवमा उपस्थित भइदिन आग्रह गर्दै आधा दर्जन भिडियो सन्देश जारी गर्दा पनि दर्शक नजानुले समीक्षालाई जस्तै बहिष्कार गरेको अनुमान लगाइएको छ ।

उता, महोत्सव आयोजक आफैँ विवादमा परेको छ । फागुन १ देखि १६ गतेसम्म महोत्सव सञ्चालनको अनुमति पाएको आफूखुशी दुई दिन थपेपछि जिल्ला प्रशासन कार्यालयले तत्काल रोक्न निर्देशन दिएको अवस्था हो ।

टिप्पणीहरू