तीन महिनामा सक्छ नेपालले ?

तीन महिनामा सक्छ नेपालले ?

नेपाल अधोगतिमा लाग्नुको प्रमाण पेश गर्न अचेल सबैले राख्ने गरेको एउटा तथ्य हो, ग्रे लिष्ट वा उच्च जोखिमयुक्त राष्ट्रको सूचीमा परेको घटना । 

गत हप्ता नेपालसँगै लाओससमेत यो सूचीमा समेटिएको छ, पेरिसमा सम्पन्न फाइनान्सियल एक्सन टाक्सफोर्स नामक अन्तर्राष्ट्रिय संयन्त्रको बैठकबाट । नेपालको तहबाट यसबारे लगातार विदेशीहरूसँग संवाद गरिरहेका एक उच्च अधिकारीका अनुसार वर्षमा तीनपटक यो संयन्त्रको बैठक बस्ने र सूची अपडेट गरिने हुँदा कहिले कुन लिष्टमा त कहिले कुन लिष्टमा पर्नु नियमित प्रक्रिया नै हो । त्यसैले अहिले जसरी बर्बादै भयो भनिँदैछ, त्यो भनिरहनु आवश्यक थिएन । बरु दिइएको सातबुँदे सुधारलाई कार्यान्वयनमा ल्याउने हो भने हामी चाँडै त्यो सूचीबाट बाहिर आउन सक्छौं । त्यसो त नेपाललाई दुई वर्षको समय दिइएको छ तर यदि चाहने हो भने केही कानुनी र व्यावहारिक सुधारमार्फत छिट्टै त्यो सूचीबाट हट्न सकिनेछ । 

एउटा संयोग के छ भने नेपाल र लाओस सन् २०२६ देखि अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछन् । अहिले एकपटक मात्र सम्पत्ति शुद्धिकरणको दृष्टिबाट दुवै मुलुक कमजोर ठहर भएका हुन् । त्यसो त फिलिपिन्स यही बैठकदेखि ग्रे लिष्टबाट बाहिर आएको छ । नेपाल र लाओस भने प्राप्त एक वर्षे ग्रेस पिरियडमा समेत उल्लेख्य काम नगरेका कारण यस्तो सूचिमा परेका हुन् । कम्बोडिया, सेनेगलसमेत केही समयअघि मात्रै यो सूचीबाट बाहिर आउन सफल भएका थिए । त्यसो त नेपाललाई यो संयन्त्रले विशेष मायासमेत गरेको थियो । त्यसैले निकै ढिलो गरी मात्रै मूल्यांकन गरियो । दक्षिण अफ्रिका, टर्की, नाइजेरिया, भियतनामजस्ता मुलुक सेकिँदै आए पनि संक्रमणकालिन अवस्थाबाट भर्खरै बाहिर निस्किएको भन्दै २००२ मा बल्ल सदस्यता लिएको नेपाललाई सम्हालिन समयको यस्तो छुट दिइएको थियो । समाचार स्रोतका अनुसार यसअघि समेत नेपाल ग्रे लिष्टमा परेको थियो तर त्यो बेला कसैले हल्ला नगरेको कारण उतिसारो चर्चा भएन ।

नेपाललाई ग्रे लिष्टबाट हट्न वित्तीय क्षेत्रका उच्च जोखिमयुक्त क्षेत्रको मूल्यांकन र पहिचान गर्न निर्देशन दिइएको छ । त्यसैगरी, क्यासिनो, घरजग्गा व्यवसाय, सहकारीलगायत आर्थिक कारोबार गर्ने गैरबैंकिङ वित्तीय संस्थाको नियमन गर्नसमेत भनिएको छ ।

एक वर्षमा तीनचोटि यस्ता मिटिङ हुने गर्छ । तीन महिनापछि फ्रान्समा बैठक बस्दा आफ्ना कमजोरी सुधारिसक्ने अवसर पनि उपलब्ध छ तर के हामी त्यति फूर्तिला छौं ?
 

टिप्पणीहरू