सरोजले निकासा गरेको तलब बालेनको खातामा

काठमाडौं महानगरपालिकाले पाँच महिनादेखि रोकिएको तलब, भत्ता, सुविधा एकमुष्ट निकासा गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पुनःबहाली गरेपछि उक्त कार्यलाई प्राथमिकता दिइएको बताइएको छ ।
पाँच महिनादेखि महानगरका १७ सयभन्दा बढी शिक्षक र चार हजारभन्दा बढी कर्मचारी तथा जनप्रतिनिधिले तलब पाएका थिएनन् । मेयर बालेन साहले कारबाही गरेपछि महानगरमा प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण आर्थिक निकासा ठप्प भएको थियो ।
मेयरले महानगर सुरक्षाकर्मीको आडमा गुरागाईंलाई गत बिहीबार कार्यालयमा हाजिर हुन अवरोध पुर्याएका थिए । तर, जनप्रतिनिधि र कर्मचारीको सहयोगमा उनी हाजिर भएका हुन् ।
आज आधाभन्दा बढी कर्मचारीको तलब निकासा भइसकेको छ । सरोजको हस्ताक्षरपछि प्रमुख साहको तलब बैंकमा जम्मा गर्न आजै निकासा गरिएको छ । महानगरले चैत मसान्तसम्मका लागि तलब भत्तामा एकमुष्ठ ४० करोड निकासा गर्दैछ ।
यता वडाध्यक्षसमेत रहेका महानगरका प्रवक्ता नवीन मानन्धरले खातामा तीन महिनाको एकमुष्ट तलब आएको पुष्टी गरे । अगाडि भने, ‘दिउँसो एक बजेतिर धेरैको खातामा पैसा आइसक्यो ।’
रत्नपार्कस्थित पुरानो बसपार्क निर्माणाधीन भ्यू टावरको नक्सा विवादमा मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईमाथि भ्रष्टाचारको आरोप लगाउँदै पुस पहिलो सातादेखि कार्यालय प्रवेशमा रोक लगाएका थिए । बालेनले बनाएको छानबिन समितिले नै गुरागाई दोषी नरहेको निष्कर्षसहित प्रतिवेदन तयार पारेपछि कार्यालय प्रवेश गर्ने बाटो खुलेको हो ।
यता मेयर बालेन भने गत सातादेखि कार्यालयमा अनुपस्थित छन् । उनले महानगरका प्रवक्ता, सूचना अधिकारी, अन्य कर्मचारीलाई पनि जानकारी नगराएको बताइन्छ । प्रवक्ता मानन्धरले जनआस्थासँग भने, ‘खै कहाँ जानुभएको हो, थाहा छैन । केही औपचारिक जानकारी गराएको भए पो थाहा हुन्थ्यो त ! ’
केही दिनअघि बालेन दोलखाको भीमसेन मन्दिर र कालिञ्चोक पुगेर साथीहरुसँग रमाइलो गरिरहेको तस्बीर सार्वजनिक भएको थियो । तर उनले बिदा नै नलिएर छुट्टी मनाउन हिँडेको बुझिएको छ । समान्यतयाः मेयरले बिदा बस्नुपर्यो भने उपमेयरलाई औपचारिक जानकारी गराउनु पर्छ वा उपमेयर पनि नभएको खण्डमा एक जनप्रतिनिधिलाई कार्यवाहक जिम्मेवारी तोक्नुपर्छ । तर बालेनले न उपमेयरलाई जानकारी गराएका छन्, न त कसैलाई कार्ववाहक नै तोकेका छन् । प्रवक्ता मानन्धरले अघि थपे, ‘उपमेयरज्यूले बिहीबार नै भनिसक्नु भएको छ, बन्द कोठामा लुकेर स्टाटस लेख्ने हैन, अगाडि आएर समस्या समाधान गर्ने आँट गर्नुपर्छ ।’
मेयर र प्रमुख प्रशासकीय अधिकृतको ‘फेस टु फेस’ भएको छैन ? भन्ने प्रश्नमा मानन्धरको जवाफ छ, ‘कहाँ हुनु नि ! उहाँ (बालेन) फेस टु फेस हुनुहुन्न क्या, कोठामा बसेर स्टास लेख्ने मात्र हो ।’
टिप्पणीहरू