राप्रपाको आमसभाअघि प्रहरी हेडक्वार्टरमा बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि बल्खुमा आयोजना गर्न लागेको आमसभाको पूर्वसन्ध्यामा सुरक्षा निकायहरुको संयुक्त बैठक बसेको छ । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र अनुसन्धान विभागका प्रमुख हुतराज थापा नक्सालमा जुटेका हुन् ।
चैत १५ गतेको तीनकुने घटनालाई लिएर सुरक्षा संयन्त्रको चर्को आलोचना भइरहँदा आगामी दिनमा सोही प्रकारको कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यसहित सुरक्षा रणनीतिमा फेरबदल गरेको बुझिएको छ । राप्रपाको कार्यक्रमस्थलमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने बुझिएको छ । तीमध्ये एक हजार नेपाल प्रहरी, आठ सय सशस्त्र र बाँकी अनुसन्धान विभागका हुनेछन् ।
राप्रपाले कार्यक्रममा ५० हजारको सहभागिता हुने दावी गरेपछि प्रहरीले सिसी क्यामेरा र ड्रोनबाट समेत निगरानी गर्न लागेको छ ।
उता तीनकुने घटनाका मुख्य नाइके एवम् जनकमाण्डर भनिएका दुर्गा प्रसाईंका दाइ राकेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईं भाग्नुअघि दाइको घरमा पुगेको र त्यहाँबाट भागेको तथ्य भेटिएपछि प्रहरीले राकेशलाई पक्राउ गरेको हो ।
टिप्पणीहरू