प्रचण्डले काेल्टे फेरेपछि जिम्मेवारी हेरेफेर

‘ओली, देउवा र प्रचण्ड मुलुकको शीर्ष नेतृत्व हुन्, तर उनीहरु सबै एउटै होइनन् । दुई तिहाई शक्तिको उन्मादमा जनता बिर्सिएका ओली र देउवालाई जनतासँग माफी माग्दै, गल्ती स्वीकारोक्ति गर्दै, आत्मसमीक्षा गर्दै हिँडिरहेका प्रचण्डसँग तुलना गर्न मिल्दैन’, सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाले हालै यस्तो टिप्पणी गरे ।
उनी आफैँ माओवादी केन्द्रका नेता हुन्, तर भन्छन्, ‘मेरो नेता भएको नाताले यो कुरा गरेको होइन, तीन पात्र एउटै हुन् भनेर गलत भाष्य निर्माण नगरौँ । पार्टी नेतृत्वको हैसियतामा र सरकारको नेतृत्वको हैसियतामा सचेत नागरिकले सबै कुरा बुझेका छन् ।’
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक लोकतान्त्रिक विधिको कत्लेआम गरिरहेको पृष्ठमूमिमा सांसद सापकोटाले यस्तो टिप्पणी गरेका हुन् । चैत दोस्रो साता सम्पन्न एमाले निकट प्रेस चौतारीको महाधिवेशन होस् वा हालै सम्पन्न कांग्रेस निकट लोकतान्त्रिक अपांग सघंको राष्ट्रिय सम्मेलन, दुबै उदाहरणले दुवै पार्टीभित्र स्वच्छ प्रतिस्पर्धाको वातावरण नरहेको पुष्टि गर्छ ।
यसो भनिरहँदा माओवादीमा पनि प्रचण्डले लोकतान्त्रिक विधिको अन्त्य गरेका हुन् त ? पेरिसडाँडा स्रोतको दावी छ, ‘हामीचाहिँ लोकतान्त्रिक विधिको अन्त्यमा होइन, पुर्नजीवित र पुनर्ताजगीमा लागेका छौँ । नपत्याएर अखिल (क्रान्तिकारी) र प्रेस सेन्टरको सम्मेलनलाई हेर्नुस् ।’
स्मरणीय छ, माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर र विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा चुनावबाट नयाँ नेतृत्व चयन भए । कतिपयले दुवै संगठनमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जर्नादन शर्मा पक्षको फरक–फरक समूह निर्माण भएको भनेर प्रचार गरे पनि त्यो सत्य नभएको पार्टी कार्यालयका मुख्य सचिव गणेशमान पुन बताउँछन् ।
उनका अनुसार दुवै जनवर्गीय संगठनको नेतृत्व चयनमा अध्यक्ष प्रचण्डको प्रत्यक्ष–परोक्ष हस्तक्षेप भएन । प्रचण्डले ‘विधिसम्मत ढंगले अघि बढ्नुस्, आफ्नै साथीहरुसँग इगो नराख्नुस्, हामीलाई लड्नुपर्ने त अन्य पार्टीसँग हो’ भनेर मात्र सुझाएको पुनको भनाई छ ।
प्रचण्डले पार्टी कार्यालयका अनौपचारिक संवादहरुमा समेत ‘स्वच्छ चरित्र र सफा नियत राख्न’ निर्देश गर्दै आएको पुनले जानकारी दिए । ‘पहिले दोस्रो तहका नेतृत्वमार्फत् कार्यकर्तालाई निर्देशन दिनुहुन्थ्यो, बैठक पनि प्रायः बाहिर बोलाउनुहुन्थ्यो’, उनले भने, ‘तर अहिले उहाँमा भाष्ट परिवर्तन आएको छ, पार्टी कार्यालयमा आउँदा घण्टौंसम्म कार्यकर्तासँग वातचित गर्नुहुन्छ, कुरा बुझ्नुहुन्छ, विभिन्न ज्ञापन पत्र, ध्यानकर्षण पत्र आफै बुझ्नुहुन्छ ।’
यसकारण जिम्मेवारी हेरफेर
चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई उपाध्यक्ष र स्थायी समिति सदस्य मनोनीत गर्दै विभिन्न कमिटीको जिम्मेवारी समेत हेरफेर गर्यो । पासाङ सक्रिय राजनीतिमा आउने कुरा डेढ महिनाअघि तय भए पनि प्रदेश कमिटीकामा सह–इञ्चार्ज पद नराख्ने प्रचण्डको मनशायबारे साताअघिसम्म नेता तथा कार्यकर्ता नै अनविज्ञ थिए । तर, प्रचण्डले बैठकमा केही तर्कसहित सह–ईञ्चार्जहरुलाई प्रदेश समन्वय सदस्यको जिम्मेवारीमा निरन्तरता राख्ने प्रस्ताव सुनाएपछि अन्य पदाधिकारीले ताली बजाएर स्वागत गरे ।
मुख्य सचिव पुनका अनुसार फागुन १२ गतेबाट सुरु भएको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियानको क्रममा प्रचण्डले पार्टीको ग्रामिण शक्तिबारे राम्रो अध्ययन गरेका छन् । ‘सहईञ्चार्ज हटाउनुको कारण थुप्रै छ, तर पार्टी अभियानको क्रममा अध्यक्षज्यूको विश्लेषण पनि एउटा कारण हो‘’, उनी अघि थप्छन्, ‘त्यो पद खासै सक्रिय नहुने र सो जिम्मेवारीमा रहेका नेताहरुले फरक भूमिकाबाट भए पनि सक्रियता बढाउनुपर्ने उहाँको निष्कर्ष हो ।’
सप्तरी र महोत्तरीसहित चार जिल्लामा नयाँ इञ्चार्ज तोकिनुको कारण के हो ? जनआस्थाको प्रश्नमा उनको जवाफ छ, ‘त्यो पनि हुलाकी मार्ग अभियानको उपलब्धि हो । अध्यक्षज्यू यतिबेला आफैँमा परिवर्तन त हुनुभएको छ नै, अन्य नेता तथा कार्यकर्तालाई झक्झक्याइरहनु भएको छ, जसले राम्रो जिम्मेवारी बहन गर्छ, उसलाई नै हो जिम्मेवारी दिने पनि, यसले लोकतान्त्रिक अभ्यास सुदृढ बनाउँछ ।’
त्यस्तै, अध्यक्ष प्रचण्डले प्रदेश र जिल्ला कमिटी माताहतका विभागहरुलाई सक्रिय बनाउन पनि निर्देशन दिएको पुनले जानकारी दिए ।
टिप्पणीहरू