प्रचण्डले भ्रमको खेती गरे, पूर्वराजाले गल्ती : एमाले

प्रचण्डले भ्रमको खेती गरे, पूर्वराजाले गल्ती : एमाले

नेकपा (एमाले)ले वर्तमान सरकारको निरन्तरतामा तलमाथि नहुने बताएको छ । आज बसेको सचिवालयले बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमै सरकार अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो चितवनमा ‘नयाँ वर्षमा नयाँ सरकारले निकास पाउने’ बताएका थिए । प्रचण्डले ‘केही नयाँ आधारमा यसो भनेको हुँ’ भनेपछि सत्ता समीकरण फेरबदल हुन लागेको चर्चा चलिरहँदा एमालेले खण्डन गरेको छ ।

पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले जनतामा भ्रम सिर्जना गर्न प्रचण्डले सरकार फेरबदलको पासा फ्याँकेको बताए । ‘प्रचण्डजीले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ, यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हुन्छ’, उनले बैठकपछि भने, ‘राष्ट्रिय राजनीतिको यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्तामोह बाहेक केही होइन, भ्रम सिर्जना गर्ने कोसिसलाई खण्डन गरेका छौं ।’

त्यस्तै, तीनकुने घटनाको नैतिक जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने एमालेको तर्क छ । बैठकमा पूर्वराजाले नयाँ वर्षको अवसरमा हिजो दिएको शुभकामना सन्देशबारे पनि समीक्षा गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । ‘हिजोमात्रै पूर्वराजा ज्ञानेन्द्रको सन्देश भनेर जुन अभिव्यक्ति आएको छ, त्यो हेर्दा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धीलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौँ, जुन एकदम गलत हो’, उनले थपे ।

टिप्पणीहरू