छोरोलाई नेता बनाउन पार्टी किन्ने धमास

छोरोलाई नेता बनाउन पार्टी किन्ने धमास

एमाले मुख्यालय च्यासल जाने हो भने विभिन्न थरी नेता–कार्यकर्ता भेटिन्छन् । गाउँ तहका कार्यकर्ता नेताले कतै काम लगाइदिन्छन् कि भन्ने हेतुले आएका हुन्छन् त कोही स्वास्थ्योपचारका निम्ति केही मिल्छ कि भन्दै धाउने गरेका पनि भेटिन्छन् । 

त्यसैमा भेटिए– एक ठेकेदार, जो गत स्थानीय निर्वाचनमा रामेछापको लिखुतामाकोशी पालिकाबाट अध्यक्ष पदमा कांग्रेसका केशव महतसँग ११०४ मतान्तरले पराजित कमलप्रसाद कडरिया । एमालेका जनसंगठनलाई महाधिवेशनको चटारो छ अहिले । जेठभित्र २३ वटै जनसंगठनले अधिवेशन सक्नुपर्नेछ । महिला, युवासंघ, अखिललगायतको बाँकी नै छ । 

जीवनमा पहिलोपटक महाधिवेशन प्रतिनिधि भएर आएलगत्तै सीधै सचिव बन्न सफल पात्र हुन्– डा. सुजन कडरिया । उनै कमलप्रसादको जेठो छोरा । सुजनलाई (छोरो) अबको महासचिव बनाउन जे पनि गर्न तयार छु भन्दै हिँड्छ्न्, कमल ।

महासचिव भए नेपालमै, नभए अमेरिका  

सुन्दा पनि अचम्म लाग्छ, तत्काल अमेरिका जानु भनेको काठमाडौँबाट खिम्ती–चरिकोट या मन्थली गएजस्तै हो ? गत अधिवेशनताका भानुभक्त ढकाललगायतले बनाएको टिममा महासचिवको उम्मेदवार थिए मोरङका भाष्कर खनाल । उनी निर्वाचन हारेको केही महिनाभित्रै डेनमार्कतिर लागे । अहिले निकटवर्तीसँग सुजन भन्छन्, ‘भए महासचिव, नत्र भोलिपल्टै केटो अमेरिका जान्छ ।’ 

पत्रकार भेटे नालीमा

फागुन २८ गते जनआस्थामा युवा नेताहरूले पनि गरिखाएकै राम्रो शीर्षकमा एउटा समाचार प्रकाशन भएको थियो । उक्त समाचारले सुजनलाई साह्रै रिस उठेको रहेछ । ‘यो समाचार लेख्ने पत्रकार भेटेँ भने हातखुट्टा भाँचेर नालीमा फालिदिन्छु’ भनेर घोषणा गरेका छन् ।

चैत १६ गते पाटन संयुक्त क्याम्पसमा निर्वाचन हुने भनेर मतदाता लाइनमा थिए । तर, निर्वाचन हुन सकेन । त्यसपछि अखिलले कोणसभा गर्‍यो, उपाध्यक्ष धर्म गिरीले बोलेपछि अखिलको टोली चिया पिउन नजिकैको क्याफेमा गयो । पाटन क्याम्पसका अखिल नेता सुरेश जिसीले ब्यागबाट २ अंक जनआस्था पत्रिका निकालेर अखिलको समाचार पढ्न थाले । धर्म गिरी टिकट बाँड्ने ठाउँमा भएर पनि मीनभवनमा समिक बडालले श्यामकाजी खत्रीलाई पठाएको र अर्को चाहिँ ‘युवा नेताहरूले पनि गरिखाएकै राम्रो’ शीर्षक समाचार पनि पढे । त्यो कुरा सुजनलाई अरुले सुनाइदिए । उनी झन् आक्रोशित भए । 

एमाले अखिलमा पनि उमेर हद 

नेविसंघ र क्रान्तिकारी विद्यार्थी संगठनमा उमेरहद लागेपछि एमालेनिकट अखिल पनि दबाबमा परेको छ । नेतृत्व गर्ने ४०, नियमित पढ्ने २०÷२१ को भएपछि झट्ट हेर्दा बाबुछोरा या काका–भतिजा जस्तो देखिने भयो । लामो समयपछि भएको स्ववियु निर्वाचनमा अखिलले धक्का खाएपछि उमेर हद लगाउनुपर्नेबारे पार्टीका केही नेताले छलफल गर्न थालेका छन् । एमाले महासचिव शंकर पोखरेलले आफ्नो च्याम्बरमा भानुभक्त ढकाललगायतलाई बोलाएर ‘अध्यक्षलाई मनाउने काम मेरो भयो, तपाईंहरू विधानमार्फत उमेर हद ३०/३२ कति कायम गर्ने हो, तयारी थाल्नुस् न’ भनेपछि, नेताहरु उमेरहद लगाउन घनीभूत छलफलमा जुटेका छन् ।

उमेर हद ३२ वर्ष बनाएर मुखैमा आएको अध्यक्ष गुमाउन चाहँदैनन् धर्म गिरी, नारायण घर्ती, नरेश रोकायाहरू । ‘यदि उमेर हद लगाउने हो भने अहिलेका २ जना सचिव मात्र योग्य हुनेछन्’ एक पदाधिकारीले भने । 

एक सातादेखि सामुदायिक विद्यालयका शिक्षकले काठमाडौँकेन्द्रित आन्दोलन चर्काएका छन् । अखिल महासचिव नरेश रोकायाले आइतबार माइतीघरमा पुगेर ऐक्यबद्धता जनाएका थिए । उनलाई साथ दिए– डा.सुजन कडरियाले । उनले शिक्षकको आन्दोलनमा भाषण गरेको जानकारी पाएपछि अखिल अध्यक्ष, इञ्चार्ज आदिले फोन गरेर हकारेका छन् । ‘योजना र अनुमतिबिना किन बोलेको’ भन्दै अखिल इञ्चार्ज किशोरविक्रम मल्ल कुर्लिएका थिए । 

पदाधिकारी ५ त्रिचन्द्रका, अध्यक्षले ल्याए ४३१, समानुपातिकको ६९२ मत 

त्रिचन्द्र क्याम्पसमा स्ववियुको निर्वाचन पटक–पटक स्थगन भएर चैत १९ गते सम्पन्न भयो । एमाले अखिल, समाजवादी र क्रान्तिकारीको गठबन्धनसमेत थियो । तर, अखिल उम्मेदवार प्रमित बिष्टले जम्मा ४३१ मत पाएर तेस्रो भए । जबकि अखिलले समानुपातिक मत मात्रै ६९२ अर्थात् अध्यक्षको भन्दा २६१ मत बढी पायो । यो मत प्रमितलाई आएन नै ! गठबन्धनबाट आउने मतसमेत आएन । अहिले त्यो २६१ मत कहाँ गयो भनेर ब्यापक खोजी भइरहेको एक पदाधिकारीले बताए । केन्द्रीय अध्यक्ष समिक बडाल, सचिवत्रय सञ्जिव धिताल, दिपेश प्रसाईं, डा.सुजन कडरिया र कोषाध्यक्ष संगम अर्याल यही क्याम्पसका हुन् । 

स्मरणीय छ, अखिलले ०६२ सालको स्ववियु निर्वाचनमा नेविसंघसँग मिलेर लड्दा सचिवसहित दुई तिहाई जितेको क्याम्पस हो त्रिचन्द्र । त्यो बेलाको स्ववियु सदस्य समिक बडाल हुन् भने सचिव पुरुषोत्तम कडरिया एमाले रामेछापको जिल्ला अध्यक्ष छन् ।
 

टिप्पणीहरू