माओवादी हेडक्वार्टर यसरी जोगियो
एकै दिन दुई समूह सडकमा उत्रिँदा सामान्य मुठभेडको सम्भावना रहने भए पनि पार्टी कार्यालय तोडफोडकै तहमा हिंसा मच्चिएला भन्ने अनुमान सुरक्षा निकायले गरेको थिएन । चैत १५ गते समाजवादी मोर्चालाई भृकुटीमण्डप र राजावादी समूहलाई तीनकुनेमा प्रदर्शनको अनुमति दिँदा स्थानीय प्रशासनले पनि त्यस्तो पूर्वानुमान गरेन । तर, कम्युनिष्ट पार्टीको कार्यालय जलाउने योजनाबद्ध तयारीका साथ राजावादीहरू सडकमा आएको घटनाक्रम विश्लेषण र सुरक्षा निकायको अनुसन्धानबाट खुलेको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी सम्मिलित चारदलीय समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा त्यस दिन भृकुटीमण्डपमा जनप्रदर्शनसहित आमसभा आयोजना गरेको थियो । दुबै पार्टीका नेता–कार्यकर्ता पार्टी कार्यालयमा ताला लगाएर भृकुटीमण्डप पुगेका थिए । यता, तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन मेडिकल माफिया दुर्गा प्रसाईंले कमाण्ड गरेको प्रदर्शन भने हिंसामा परिणत हुँदै थियो । व्यक्तिका निजी घर, सरकारी भवन, सवारी साधनमा तोडफोड गरेका राजावादी उद्दण्डकारीको निशानामा पर्यो एकीकृत समाजवादीको कार्यालय ।
आलोकनगरस्थित कार्यालयमा तोडफोड गर्नुका साथै महत्वपूर्ण कागजात निकालेर आगो लगाएको राजावादी भीड त्यसअघि माओवादी केन्द्रको कार्यालय जलाउन पेरिसडाँडा उक्लिएको थियो । बोत्तलमा पेट्रोल लिएका उनीहरू खुलेआम भन्दै थिए, ‘माओवादीको कार्यालय जलाउने हो ।’ तर, १० वर्षे जनयुद्ध गरेर आएको माओवादी कार्यकर्ता, जोसँग फौजी अनुभवसमेत छ उनीहरूको चनाखोपन र सुझबुझपूर्ण निर्णयका कारण माओवादी मुख्यालय सम्भावित ठूलो दुर्घटनाबाट जोगियो । राजावादीले तीनकुनेमा कार्यक्रम गर्न अनुमति पाएपछि पेरिसडाँडामा केही उपद्रो हुनसक्ने वाइसिएलको पूर्वानुमान थियो । त्यसकारण अघिल्लो दिन १४ गते नै त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीलाई उनीहरूले सम्भावित खतराबारे जानकारी गराएका थिए भने पार्टी कार्यालयका तर्फबाट थप सुरक्षा फौज पठाइदिन आग्रह भएको थियो । ‘भोलि हामी सबै भृकुटीमण्डपमा हुन्छौँ, तपाईंहरूलाई अप्ठेरो पर्न सक्छ, थप फोर्सको लागि कुरा गर्नुस् है भनिएको थियो, नभन्दै हामीले जे अनुमान गरेका थियौँ त्यही भयो’, वाइसिएल अध्यक्ष सुबोध श्रीपालीले भने ।
माओवादी मुख्यालयको सुरक्षाका लागि नियमित सशस्त्र प्रहरीबाट ५–६ जनाको सानो टोली पेरिसडाँडामा तैनाथ हुने गरेको छ । सामान्य अवस्थामा यही टोलीले त्यहाँको सुरक्षा दिँदै आएकोमा माओवादीको आग्रहअनुसार १५ गते भने ठूलो संख्यामा फौज खटाइएको थियो । बिहानै एक ट्रक फौज थपेको सशस्त्रले तीनकुनेमा हिंसा मच्चिएपछि दिउँसो अर्को एक गाडी पठायो । ‘गणतन्त्र ल्याउन सबैभन्दा बढी योगदान गरेको पार्टी कार्यालय नजिकै राजावादीको कार्यक्रम भएकाले हाम्रो अफिस जोखिममा छ भन्ने विश्लेषण पहिले नै गरेका थियौँ’, सुबोध भन्छन्, ‘त्यसैले सेक्युरिटी टाइट गर्दिन भनेका थियौँ । सतर्कता अपनाएर सुरक्षा निकायसँग समन्वय नगरेको भए अकल्पनीय दुर्घटना हुने रहेछ ।’
राजावादी आन्दोलन हिंसामा परिणत भएलगत्तै शुरुमै पेरिसडाँडा टार्गेटमा पर्नुले पनि वाइसिएलको पूर्वानुमान सही ठहरिएको छ । जब तीनकुनेको प्रदर्शन हिंसामा बदलियो, त्यसपछि १५–२० जनाको झुण्ड बनाएर राजावादीहरू तोडफोड, आगजनी र लुटपाटमा उत्रिए । त्यसमध्येको एउटा झुण्डले माओवादी कार्यालयलाई आक्रमणको निशाना बनाउँदा पेरिसडाँडामा प्रहरीबाहेक कोही थिएन । राजावादी वितण्डासँगै पार्टी कार्यालय जोखिममा परेको समाचार र सामाजिक सञ्जालमा भिडियो हेरेपछि बल्ल कार्यालयका मुख्यसचिव गणेशमान पुनसहितको एउटा टोली फर्किएको हो ।
कार्यक्रम सकिएपछि मञ्च व्यवस्थापन र फोहोर सरसफाइ गरेर पछि वाइसिएलको टोली पनि पुग्यो । ‘वाइसिएलको टिम पुग्दा उनीहरू त्यहाँबाट हटिसकेका थिए । एकातिरबाट मात्र कार्यालय छिर्ने ठाउँ भएको र सुरक्षा व्यवस्था कडा गरेको हुनाले मात्र बचेको हो भन्ने हाम्रो निष्कर्ष छ’, वाइसिएल अध्यक्षले सुनाए, ‘दुर्गा प्रसाईंको अफिस पनि हाम्रो कार्यालय नजिकै थियो । त्यसकारण उनीहरू त्यहाँको भूगोलबारे पूर्वजानकार थिए । कोशिस धेरै गरेर नसकेपछि आलोकनगर गएको देखिन्छ ।’ घटनाक्रम हेर्दा पनि राजावादीले आफ्नो कार्यक्रम सफल बनाउने भन्दा पनि कम्युनिष्ट पार्टीहरूको कार्यालय तोडफोड गर्ने कुरालाई बढी केन्द्रित गरेको देखिन्छ ।
पेरिसडाँडाबाट हटेपछि एकीकृत समाजवादीको कार्यालय तोडफोड गरेका उनीहरू त्यसपछि सरासर च्यासलतिर मोडिनुले पनि योजनावद्ध थियो भन्ने पुष्टि हुन्छ । तर, एमाले मुख्यालयमा नियमित कार्यक्रम चलिरहेको र ३ सय हाराहारीमा मान्छे भएकाले राजावादी सफल भएनन् । अर्कोतिर, माओवादी कार्यालयमा आक्रमणको अफसल प्रयास गरेका विध्वंशकारीको तारोमा अरू पार्टी कार्यालय पनि पर्नसक्ने अनुमानका आधारमा त्यसबेलासम्म च्यासलमा सुरक्षा तैनाथी बढाइसकिएको थियो । ‘त्यसबीचमा हामीले पनि युवा संघका साथीहरूसँग समन्वय गरेर सचेत गराएका थियौँ । तीनवटै कार्यालयमा कोसिस गरे तर सफल चैं समाजवादीको कार्यालयमा मात्र भए’, सुवोधले भने, ‘सबै जना भृकुटीमण्डप गएको र फोर्स धेरै नभएको हुनाले त्यस्तो भयो ।’
यता, राजावादीले आगो लगाएर ध्वस्त बनाएको तीनकुनेस्थित सिसाको घरलाई पनि योजनावद्ध निशाना बनाएको खुलेको छ । उच्च जानकार स्रोतका अनुसार सो घरमा दुर्गा प्रसाईंका कार्यकर्ता डेरामा बसेको र भाडा नतिरी हिँडेको अनुसन्धानबाट खुलेको हो । त्यही घरमा प्रसाईंको टोलीले बेला–बेला बैठक गर्ने गरेको र १५ गतेका लागि पनि त्यहीं बसेर योजना बनाएको बुझिएको छ । पेरिसडाँडास्थित दाइको घरमा रहेको अफिस केही समयअघि मात्र प्रसाईंले उक्त जलेको घर वरपर सारेको पनि स्रोत बताउँछ ।
टिप्पणीहरू